सबैलामा भ्रष्टाचार: कागजमै भ्रमण, २६ लाख झ्वाम्म

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा कर्मचारी तथा पदाधिकारीले होटल र भ्रमणको नाउँमा २६ लाख २५ हजार ९१७ रुपैयाँ खर्च देखाएको छ । भ्रमण गरेको भन्दै ११ लाख ९ हजार ९७१ र होटलमा खाएको भनि १५ लाख १५ हजार ९४६ रुपैयाँ ।
आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले पदाधिकारी तथा कर्मचारीलाई भ्रमण गराउन २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उल्लेखित बजेट खर्च गर्न असार मसान्तसम्म भ्रमणको चर्चा पनि चलिरहयो । तर, समयको अभाव भन्दै अन्त्यमा भ्रमण कार्यक्रम रद्द गरिएको प्रचार गरियो ।
जब महालेखा परीक्षक कार्यालयले गरेको लेखा परिक्षण प्रतिवेदन बाहिर आयो, अनि बल्ल पोल खुलेको छ, ‘सबैला नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले ११ लाख ९ हजार ९७१ रुपैयाँ खर्चेको रहेछ भ्रमणको नाउँमा ।’

यद्यपि, मेयर कारीराम यादवले उक्त भ्रमणमा आफु सहभागी नभएको बताएका छन् । गत आर्थिक वर्षमा भ्रमण शिर्षकमा नगरपालिकाको कोषबाट बजेट खर्च भएको वारे समेत आफुलाई जानकारी नभएको उनको प्रतिक्रिया छ ।
‘अरु कुरा मलाई थाहा छैन । तर, यति भन्छु कि आर्थिक वर्ष २०७९/०८० मा हामी सबैला नगरपालिकाबाट कोही पनि भ्रमणमा गएका छैनौं’ मेयर यादवले न्यूज आजसँग भने ।
‘त्यसो भए यो रकम कहाँ खर्च भयो त ?’ न्यूज आजको प्रश्नमा मेयर यादव भन्छन्, ‘हामीले त समय मिलेन त्यसैले भ्रमण रद्द भएको बुझ्यौँ । तपाईले यो शिर्षकमा रकम खर्च भएको देखिएको भनेपछि म पनि भित्री कुरा के हो पत्ता लगाउँछु ।’
विभिन्न होटलहरुमा १५ लाख १५ हजार रुपैयाँ खर्च गरेको सवालमा पनि मेयर यादवले अनभिज्ञता प्रकट गरे । ‘बैठक, सभामा खाजा र त्यस्तै पर्दा केही दिन होटलमा कार्यक्रम चलेको हुनसक्छ । तर, सभा, बैठक बाहेक होटलमा धेरै खर्च भएको मलाई जानकारी भएन’ मेयर यादवले भने, ‘यो विषय पनि मेरो लागि नौलो हो ।’
जबकी नगरपालिकाले नगरसभा तथा नियमित बैठक सञ्चालनको क्रममा उपभोग गरेको खाजा र खानाका लागि अलग्गै १२ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ । यी रकम बाहेक विभिन्न होटलमा भनेर १५ लाख १५ हजार रुपैयाँ खर्च भएको देखाएर नगरपालिकाको कोषबाट रकम खर्च गरेको प्रतिवेदनले देखायो ।
नगरपालिकाको भ्रमणको विषयमा नगरपालिकाका उपमेयर तथा वडा अध्यक्षहरुले पनि आश्चर्य प्रकट गर्छन् । ‘भ्रमणमा जानुपर्छ भनेर केही पदाधिकारी तथा कर्मचारीहरुले कुरा त उठाएका थिए । तर, भ्रमणमा कोही पनि गएका छैनन्’ उपमेयर रहिमा खातुनले न्यूज आजसँग भनिन्, ‘सबैला नगरपालिकामा भ्रमण भनेर रकम निकासा भएको छ भने त्यो भ्रष्टाचार हो । कागजमै भ्रमण गरेर बजेट हजम गरेको हुनुपर्छ ।’
सबैला नगरपालिका –१ का वडा अध्यक्ष मिथिला साहले पनि गत आर्थिक वर्षमा त्यस नगरपालिकाबाट कोही पनि भ्रमणमा नगएको जिकिर गरे । ‘भ्रमणको नाउँमा खर्च भएको छ ? यो त हामी जनप्रतिनिधिकै आँखामा धुलो छ्याप्ने काम भयो’ सबैला नगरपालिकाको सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका वडा अध्यक्ष साहले भने ।