ओलीले आज शपथ लिँदै, प्रमुख मन्त्रालय पनि टुंगियो

जनकपुरधाम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बिहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री ओलीसँगै कांग्रेस र एमालेका मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने भएका छन् । यसका लागि दुवै दलले मन्त्रीको टुंगो लगाइसकेको छ ।
ओली सरकारमा नेपाली कांग्रेसको नेतृत्व प्रकाशमान सिंहले गर्ने भएको छ । रक्षा मन्त्रालय ताकेको सिंहले उक्त मन्त्रालय बागवण्डामा एमालेतिर पुगेपछि तत्काल कुन मन्त्रालय पाउने भन्ने निर्णय भइसकेको छैन ।
कांग्रेसतर्फ रमेश लेखकलाई गृह मन्त्रालय, आरजु देउवालाई परराष्ट्र मन्त्रालय, अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मन्त्रालयमा पठाउने निर्णय भइसकेको छ ।
कांग्रेसका तेजुलाल चौधरी, जीवन परियार, प्रदिप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी लगायतलाई मन्त्रालय टुंगो लागिसकेको छैन ।
एमालेतर्फ विष्णु पौडेल अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, देवेन्द्र दाहालले भौतिक पूर्वाधार मन्त्रालय पाउने निर्णय भएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पृथ्वी सुब्बा गुरुङ, शिक्षा मन्त्रालयमा विद्या भट्टराई पाउँदैछिन् । एमालेका राजकुमार गुप्ता मन्त्री हुने करिब निश्चित भएपनि कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेको जनाइएको छ ।