भोली ओली प्रधानमन्त्री बन्दै, कांग्रेस–एमाले मन्त्री छान्दै
जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भोली (आइतबार) बिहान प्रधानमन्त्री पदमा नियुक्त हुन लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने र दिउँसो शपथ ग्रहणको तयारी गरिएको स्रोतको भनाई छ । शुक्रबार साँझ प्रधानमन्त्रीका लागि दावी पेश गरेका ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेर आइतबारै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादी पार्टी बाहेक सबै सँगै उभिए पनि ओलीले प्रधानमन्त्रीको दावी पेश गर्दा कांग्रेस र एमालेका १६६ सांसदको मात्रै हस्ताक्षर बुझाइएको थियो ।
नयाँ सरकारलाई पुर्णता दिन ढिलो नहोस् भन्नका लागि नेपाली कांग्रेस र एमालेले शनिबारै मन्त्री छान्ने प्रक्रिया पुरा गर्न लागेको बुझिएको छ ।
नेपाली कांग्रेसले मन्त्री छान्ने प्रस्तावमा छलफलका लागि शनिबार दिउँसो २ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको छ । उक्त बैठकले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नेदेखि आफ्नो कोटामा परेका मन्त्रालयका लागि उपयुक्त व्यक्तित्व छनौटको विषयमा केन्द्रीत रहने जनाइएको छ ।
नेकपा (एमाले) ले पनि शनिबारै साँझसम्म मन्त्री छनौट गरिसक्ने गरी गृहकार्य सुरु भएको पार्टी स्रोतले जनाएको छ ।