नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् ।
संविधानको धारा ७६ (२) अनुसार कुनै एक दलसँग प्रतिनिधिसभामा बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर नयाँ सरकारको नेतृत्वका लागि राष्ट्रपति पौडेलले शुक्रबारै साँझ आह्वान गरेका हुन् ।
असार ३० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दावी गर्न दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई आह्वान गरिएको हो । दाहालले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (२) वा ७६ (३) मध्ये कुन धाराको सहायता लिने भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनी परामर्श लिएका थिए ।
कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए ।
राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसी लगायतसँग सुझाव लिएका थिए ।
ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका थिए ।