प्रतिनिधिसभामा रोचक दृश्यः मिल्न नसक्नेहरु मिले, मिल्नेहरु फुटे
जनकपुरधाम । काठमाडौं, नयाँ वानेश्वरस्थित प्रतिनिधिसभा भवनमा शुक्रबार रोचक दृश्यहरु देखिए । रोचक यसमानेमा कि भर्खरै (एकाध महिना अघि) का ती दृश्यहरुलाई स्मरण गर्दा ‘यो के भएको हो ?’ भन्ने प्रश्न मनमा उब्जिहाल्ने ।
सरकारको नेतृत्व पुष्पकमल दाहालकै थियो । सोही सरकारमा उपप्रधान एवम् गृहमन्त्री थिए रवि लामिछाने । रवि विरुद्धको मुद्दामा दृढताका साथ बचाउ गरिरहेका एमाले अध्यक्ष केपी ओलीलाई शुक्रबार रविले हेर्नै नसक्ने अनुहार बनाइरहेको देखियो । नचाहँदा नचाहँदै अप्रत्यक्ष ढंगले बचाउ गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भने रवि दशकौंदेखिको साम्यिता भएजस्तो टाँसिरहेको नजर आयो ।
अघिल्लो पटक दाहालले विश्वासको मत लिइरहँदा कडा विरोध गर्दै विपक्षमा मतदान गरेको जसपा नेता उपेन्द्र यादव र पक्षमा मतदान गर्ने अशोक राई शुक्रबार सँगै मिलेर विपक्षमा उभिएको देखियो ।
रविलाई जसरी पनि कारबाही हुनुपर्ने अडानमा अडिग देखिएका गगन थापा र रवि जोगिनुपर्ने ध्येयका साथ पार्टी फुटाएर पनि सरकारमा गएका प्रदीप यादव धेरै बेरसम्म सँगै उभिएर गफिइरहेको देखियो ।
अघिल्लो पटक दाहालले विश्वासको मत लिइरहँदा एमाले र एकीकृत समाजवादीका सांसदहरु उत्साहित भएर पक्षमा मतदान गरिरहँदा कांग्रेसका सांसदहरुले नाक खुम्च्याउँदै विपक्षमा मतदान गरिरहेको देखिएको थियो । शुक्रबार एमाले कांग्रेसतिर सोझिए भने एकीकृत समाजवादीका सांसदहरु माओवादीतिर ।
मत विभाजन भइरहँदा ओली र देउवासँग हात मिलाउने र नजिकिएर कुरा गर्न चाहने सांसदहरु धेरै देखिए । दाहाललाई सहानुभूति दिनेहरु खासै नजरमै आएनन् ।