एमालेका कनिष्ठ नेताले प्रधानमन्त्री दाहाललाई सम्झाए इतिहास

जनकपुरधाम । एमाले नेता योगेश भट्टराईले देशको प्रतिकुल मौसमले निम्त्याएको संकटकालिन विपदप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल गम्भिर नभएको गुनासो गरेका छन् ।

‘१ घण्टा २२ मिनेटसम्म प्रधानमन्त्री दाहाललाई सुन्दा सायद यो संसदमा प्रधानमन्त्रीको हैसियतले पुनः कहिल्यै पनि अवसर नपाउने हो कि भन्ने अनुभूति गरेको जस्तो मलाई लाग्यो’ भट्टराईले भने ।

दाहालले शुक्रबार संसदमा बोलेको विषयमा जीवनभर जवाफ दिइरहनुपर्ने अवस्था ल्याएको टिप्पन गर्दै भट्टराईले भने, ‘यो देशले निकास र अग्रमण खोजेको छ । संविधानलाई कार्यान्वयन गर्नुछ । लोकतन्त्रलाई सुदृढ गर्नुछ । नेपालको अन्तर्राष्ट्रिय छविलाई सम्मानजनक बनाउनुछ । बलियो राष्ट्रिय एकता बनाउनुपर्ने र अर्थतन्त्रलाई सही दिशा दिनुछ । यसकै लागि हो कांग्रेस र एमाले मिल्नुपरेको ।’

भट्टराईले मुलुक धरापमा परिरहेको र राजनीतिप्रति जनतामा नैराश्यता छाइरहेको बेलामा प्रधानमन्त्रीको विश्वास र अविश्वासमा अल्झिनु दुर्भाग्य भएको बताउँदै उनले भने यो अवस्थालाई सुधार्नकै लागि दुई ठूला दल कठोर निर्णय गर्दै मिल्न बाध्य भएको जिकिर गरे ।

संविधान बनाउँदा बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने व्यवस्था गरिएको भन्दै उनले दुई प्रमुख दलमध्ये एउटा सरकारमा र अर्को प्रतिपक्षमा हुनुपर्ने भएपनि आफुलाई अनुकुल हुँदा एउटा व्याख्या र आफुलाई प्रतिकुल हुँदा अर्कै व्याख्या गरिएको आरोप लगाए ।

भट्टराईले नेपालमा जति पनि सकारात्मक परिवर्तन भएको छ सबै कांग्रेस र एमाले मिलेरै सम्भव भएको बताए । उनले प्रधानमन्त्री दाहाललाई भने, ‘तपाईलाई तीन पटक प्रधानमन्त्री बनाउने थलो निर्माण गर्ने पनि कांग्रेस र एमाले नै होइन ?’

‘१२ बुँदे सहमतिको एक जना मस्यौदाकार केपी ओली र तत्कालिन समयमा थुनाभित्रैबाट १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने शेरबहादुर देउवाले यो संसदलाई यहाँसम्म ल्याएको होइन ?’ उनले भने, ‘दुनियाँका ठूल्ठूला विद्रोह र हिंसात्मक अभियान चलाउनेहरु आज कहाँ छन् ? नेपालमा परिवर्तन ल्याउन माओवादीको भूमिका नै नभएको म भन्दिन तर, कांग्रेस र एमालेको कारण नेपाल जोगिएको हो ।’

Facebook Comments Box