सबैलामा ब्रम्हलुट, सय करोड बेरुजु
जनकपुरधाम । करिब दुई दशक अघि माओवादीको नाम सुन्ने बित्तिकै धेरैको सातो उड्थ्यो । खासगरी गलत नियत भएका तथा भ्रष्टाचारीहरुले भौतिक कारबाहीको भयले ग्रसित देखिन्थे ।
आज त्यहीँ माओवादीको नेतृत्वमा धनुषाको सबैला नगरपालिका सञ्चालन भइरहेको छ । तर, भ्रष्टाचारीहरु वा गलत नियतका व्यक्तिहरु त्रसित होइन, उत्साहित छन् । गलत विरुद्ध बोल्नेहरु भयभित देखिन्छन् ।
‘विजयशंकर साह (अघिल्लो मेयर) हुँदा सबैले विरोध गर्थे । अहिले खुलेयाम भ्रष्टाचार भइरहँदा कसैले बोल्न सकेको छैन ।’ हिजोआज सबैला बजारको चिया पसल, पान पसलहरुमा हुने जमघटमा बोलिने यो आम भनाई हो ।
हो पनि । अघिल्लो मेयरको कार्यकालमा हिसाबकिताब सार्वजनिक गर्न सूचना माग गर्दै संघर्ष हुँदा अहिलेका नगर प्रमुख कारीराम यादव पनि मोटरसाइकल चढेर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय चहार्थे । अहिले उनी आफै नगर प्रमुख हुँदा वडा अध्यक्षहरु जो आफै जननिर्वाचित प्रतिनिधि हुन् उनीहरुले सूचना पाउन पनि संघर्ष गर्नु परिरहेको छ ।
यो दृश्यले जनतामा प्रश्न उब्जिरहेको छ, ‘माओवादी बिग्रेको हो कि व्यक्तिमा दोष ?’ हुन त माओवादी भनेको संस्था हो, समूह हो, दल हो । यहाँ नगर प्रमुखको भूमिकामा कोही व्यक्ति छन् । उनलाई नगरमा भइरहेको आर्थिक हिनामिनाबारे जानकारी नभएको होइन, स्वयं आफैले अनियमिततामा संलग्न भइरहेको तथ्य सार्वजनिक भएको छ । यो तथ्य सार्वजनिक गर्ने निकाय हो, महालेखा परीक्षकको कार्यालय ।
लेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार सबैला नगरपालिकाको बेरुजु रकम ९८ करोड १६ लाख १० हजार रहेको छ । ती मध्ये गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै ३ करोड ७९ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतिवेदनमा सबैभन्दा गम्भिर विषय भनेको सबैला नगरपालिकाले बजेटलाई गर्नुसम्म दोहन गरेको देखिन्छ । ८७ प्रतिशत बजेट चालुतर्फ खर्च गरेको यो नगरपालिकाले पुजीगत (विकासतर्फ) जम्मा १३ प्रतिशत बजेट खर्च गरेको देखियो ।
१३ प्रतिशतमा पनि सामाजिक विकासको नाउँमा तालिम, गोष्ठीतर्फ ८७ प्रतिशत खर्च गरेको छ भने सुशासनका लागि आधा प्रतिशत भन्दा पनि कम, नाममात्रको बजेट खर्च गरेको छ । यसले नगरपालिका हाँक्ने नेतृत्वको नियत प्रष्ट गरिरहेको छ ।
यो पालिकाले भोजभतेर र जनप्रतिनिधिको भ्रमणमा पनि अपत्यारिलो ढंगले खर्च गरेको प्रतिवेदनले देखाइरहेको छ । गएको वर्ष सबैला नगरपालिकाले १५ लाख १५ हजार ९४६ रुपैयाँ होटल खर्च गरेको छ भने १२ लाख ७७ हजार ११६ रुपैयाँ भ्रमण (घुमफिर) मा खर्चेको छ ।
यी बाहेक विविध शिर्षकमा मात्रै ५३ लाख ४० हजार ५९ रुपैयाँ खर्च गरेको विषय उल्लेख गर्दै प्रतिवेदनले भनेको छ, ‘पालिकाले आन्तरिक आयको तुलनामा अनावश्यक खर्च धेरै गरेको देखियो । यसलाई नियन्त्रण गर्नुपर्छ ।’ प्रतिवेदनकै आधार लिने हो भने घुमफिर, होटलको भोजन र यस्तै शिर्षक (विविध) मा मात्रै करिब ८२ लाख रुपैयाँ खर्चिएको छ ।
यतिमात्रै होइन, मेयर यादवले इन्धनको नाउँमा पनि अवैधानिक रुपले नगरपालिकाको कोष दोहन गरेको देखिन्छ । नगरपालिका क्षेत्रमा हेर्दा मेयरको घुमफिर समान्यतया मोटरसाइकलमै भइरहेको देखिन्छ । तर, कानुनले तोकेको जति इन्धनले पनि पुग्दैन सबैला नगरपालिकाका मेयरलाई ।
‘कानुनले नगर प्रमुखलाई १२ महिनामा १५ सय लिटर इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । सबैला नगर प्रमुखले २०७९ साउनदेखि २०८० असारसम्म २४ सय लिटर इन्धन नगरपालिकाको कोषबाट लिएका रहेछन् । यो प्रष्ट रुपमा आर्थिक अनियमितता हो ।
यति मात्रै होइन, सञ्चार माध्यममा सूचना प्रकाशनकै शिर्षकमा एक वर्षको अवधिभित्र २४ लाख २ हजार रुपैयाँ सिध्याएको देखिन्छ ।
यसरी सूचना प्रकाशनमा पनि सबैला नगरपालिकाले आर्थिक मितव्ययिता अपनाएको नदेखिएको टिप्पनी लेखा परीक्षकले गरेका छन् ।
प्रतिवेदनलाई नै आधार मान्ने हो भने यो २४ लाखमा झण्डै २० लाख रुपैयाँ नक्कली बील, भर्पाइको भरमा हिनामिना गरिएको अनुमान गर्न सकिन्छ ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २४, २०८१प्रशासकीय अधिकृतको असहयोगले बहुदरमाइमा समस्या
- Main Newsकार्तिक २४, २०८१गैंडाको आक्रमणबाट टुरगाइड घाइते
- Main Newsकार्तिक २३, २०८१उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
- Main Newsकार्तिक २२, २०८१आज छठ मनाइँदै