विश्वासको मत पाएको भोलीपल्टै संकटमा जनमत सरकार

जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ ।
संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै ठूला दल करिब सहमत थियो । सोही अनुरुप शनिबार मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाए पनि । त्यसको चौबीस घण्टा नबित्दै परिस्थिति उल्टो हुने संकेत देखिएको हो ।
जनमतलाई के संकट पर्दैछ ?
संघमा बनेको गठबन्धनको आधारमा मधेश प्रदेशको सरकार टिकाउन जनमतलाई नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलको समर्थन अनिवार्य चाहिन्छ । दुई मध्ये कुनै एक दलले चित्त नबुझेर वैकल्पिक मार्ग अपनायो भने जुनसुकै बेला जनमत सरकार ढल्ने निश्चित छ ।
यतिबेला जनमतलाई कांग्रेस, एमाले र लोसपाको समर्थन प्राप्त भएको छ । सरकार बाहिर जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी र साना दलहरु छन् । यहीँ अवस्थामा कांग्रेस वा एमाले मध्ये कुनै एक दल बाहिर प्रतिपक्षीको रुपमा रहेका दलहरुको साथ खोज्यो भने तत्काल जनमतको सरकार ढल्ने निश्चित छ ।
समस्या कहाँ आइपर्यो ?
जनमत नेतृत्वको सरकारमा एमाले भौतिक पूर्वाधार मन्त्रालयसमेत चार मन्त्रालय लिएर सुरुदेखि सँगै छ ।
नेपाली कांग्रेसलाई अर्थ मन्त्रालय समेत चार मन्त्रालय उपलब्ध गराउन जनमत औपचारिक रुपमा सहमत भइसकेको थियो । सोही अनुरुप नेपाली कांग्रेसले शनिबारै साँझ चार जना मन्त्रीको नाम टुंग्याइसकेको थियो । लगत्तै सपथ ग्रहण कार्यक्रम राख्ने आन्तरिक तयारी पनि थियो ।
तर, मुख्यमन्त्रीले कांग्रेसलाई दिने चार मन्त्रालयबारे निर्णय नै गर्न सकेन । र, तत्कालका लागि सपथ ग्रहण कार्यक्रम आइतबारसम्मका लागि स्थगन गरियो ।
नेपाली कांग्रेसले आन्तरिक रुपमा क–कसलाई कुन मन्त्री बनाउने बारे पनि करिब निर्णय गरिसकेको अवस्था थियो । तर, आइतबार दिनभर पनि मुख्यमन्त्रीले निर्णय लिन सकेन । साँझ नेपाली कांग्रेसका प्रदेश सभापति एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वको टिम, एमाले संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार मन्त्री सरोज यादव टिम र जनमतका मुख्यमन्त्री सिंह नेतृत्वको टिमबीच मन्त्रालय टुंग्याउन औपचारिक छलफल सुरु भयो ।
बैठकमा बसेको करिब दुई घण्टा बितिसकेपछि जनमतका अध्यक्ष सिके राउतको सन्देश आयो, नेपाली कांग्रेसलाई अर्थ मन्त्रालय दिन सकिदैन । उक्त सन्देश सुन्ने बित्तिकै कांग्रेसका नेताहरु बैठकबाट बाहिरिएका छन् ।
बैठकपछि एमालेले पनि सहमति भइसकेको विषयबाट पछि हटेर जनमतले आत्मघाती काम गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।
स्रोतको अनुसार मुख्यमन्त्रीले अर्थ मन्त्रालय दिए भोली (सोमबार) सम्म सरकारमा जान सक्ने सम्भावना छ । तर, अर्थ बाहेक जनमत नेतृत्वको सरकारलाई समर्थन गरिरहन नसक्ने कांग्रेसका एक जना प्रदेश नेताले न्यूज आजलाई जानकारी दिए ।
ती नेताले भने, ‘जनमत होसमा आएन भने यो सरकारको विकल्प खोज्न कांग्रेस अघि बढ्छ ।’