बजेट पुनर्लेखन अडानले पुनः रोकियो प्रदेशसभा

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यापक त्रुटी भएको भन्दै चार राजनीतिक दलले तस्र्याएको पुनर्लेखनको अडानले आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

निर्धारित समयमा सभामुखले बैठक सञ्चालन गर्नासाथ जसपा सांसद राजकुमार गुप्ताले बजेटको त्रुटी देखाउँदै त्यसलाई सम्बोधन गरेपछि मात्र संसद चलाउन माग राखे । सांसद गुप्ताले आफ्नो भनाई प्रस्तुत गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर समर्थन जनाएपछि बैठक अवरुद्ध भएको हो ।

जवाफमा सभामुख रामचन्द्र मण्डलले यस अघि यहीँ विषयलाई लिएर मुख्यमन्त्री र अर्थ मन्त्री समेत सरोकारवाला नेताहरुलाई राखेर डेढ–दुई घण्टा छलफल गरी एक प्रकारको सहमतिमा पुगेको बताए । ‘यहीँ विषयमा यस अघि पनि संसद बैठक स्थगित गरेर मुख्यमन्त्री र अर्थ मन्त्री लगायत नेताहरुबीच डेढ–दुई घण्टाको छलफलपछि एक निष्कर्षमा पुग्यौँ र बैठक चलेको थियो’ बैठक स्थगितको माग गर्ने सांसदहरुलाई सम्झाउँदै सभामुख मण्डलले भने, ‘फेरि त्यहीँ विषयमा छलफल गर्न उचित होला ?’

सांसद गुप्ताले अघिल्लो छलफलपछि पनि सरकारको तर्फबाट समस्यालाई सम्बोधन गर्न अग्रसरता नदेखिएको उल्लेख गर्दै पुनः छलफलको आवश्यक्ता परेको र यसलाई टुंग्याएर मात्रै बैठक चलाउन माग दोहोर्याए ।

त्यसपछि सभामुख मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरी पुनः छलफलमा बस्न सरकार पक्षलाई बोलाएका छन् ।

सांसद गुप्ताले बजेटमा कानुन विपरित भएको कार्यलाई छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

Facebook Comments Box