मधेशमा कांग्रेसः टुंगियो मन्त्री, टुंगिएन मन्त्रालय
जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशको सरकारमा भाग पाएपछि चार जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
सरकारमा यस अघि अवसर नपाएका नयाँलाई मात्रै मन्त्री बनाउने मापदण्ड निर्धारण गरी सोही अनुरुप चार जना छनौट गरिएको पार्टीका प्रदेश सभापति कृष्णा यादवले न्यूज आजलाई बताए ।
मन्त्रीको नाम आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । तर, नामको टुंगो भने लागिसकेको एक जना नेताले जनाए । ती नेताका अनुसार धनुषाबाट शेषनारायण यादव, सर्लाहीबाट कौशल किशोर राय, रौतहटबाट सुनिल यादव र पर्साबाट जनार्दन क्षेत्रीको नाम टुंगिएको छ ।
कांग्रेसले चार वटा मन्त्रालय पाउने निक्र्यौल भएपनि कुन मन्त्रीलाई कुन मन्त्रालयको जिम्मेवारी तोक्ने भनि आन्तरिक निर्णय भइनसकेको पार्टी सभापति यादवले बताए ।
कांग्रेसले अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने भएको छ ।
स्रोतको अनुसार कांग्रेसका विभिन्न चार जना नेताको कोटाबाट एक एक जना मन्त्री चयन गरिएको हो । रमेश रिजालको तर्फबाट जनार्दन क्षेत्र, महेन्द्र यादवको तर्फबाट शेषनारायण यादव, कृष्णा यादवको तर्फबाट सुनिल यादव र शेखर कोइरालाको तर्फबाट कौशल किशोर राय मन्त्री पदमा अवसर पाउन लागेको स्रोतको भनाई छ ।
आनन्द प्रसाद ढुंगानाको तर्फबाट धनुषाका संजय कुमार महतोले यस अघि नै प्रदेशसभाको विषयगत समिति अन्तर्गत कृषि समिति सभापति चयन भइसकेकाले बाँकी नेताले मन्त्रीको कोटा पाएको एक नेताको भनाई छ ।