मधेशका मुख्यमन्त्री सिंहद्वारा ६ मन्त्री बर्खास्त

काँग्रेस र लोसपालाई सरकारमा सहभागि गराउँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेको छ । संघीय सत्ता समिकरण अनुसार मुख्यमन्त्री सिंहले आज चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमती अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको हो ।

माओवादीका अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बािणज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, नेकपा एसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीका गृह तथा संचारमन्त्री विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीका श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएकी छन् ।

मुख्यमन्त्री सिंह मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो । मन्त्रीहरुलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउदै सरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरु पूर्णरुपमा सहयोग गर्नुभएको बताए । उनले भने, ‘उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’

मन्त्रीहरुको सहमतिमै राजिनामाको सट्टा बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताएको छ । उनले मन्त्रीहरुसँग राजिनामा मागेपनि राजिनामा नआएपछि बर्खास्त गरेको होे ।

छ दलको समर्थनमा जेठ २५ गते जनमत पार्टीका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले विश्वासको मत लिदैछन् । त्यसअघि नै चार दलका छ मन्त्रीलाई उनले हटाएको छ ।

उनले आजै काँग्रेस र लोसपालाई सरकारमा सहभागि गराउने बताएको छ। मुख्यमन्त्री सिंहले विश्वासको मत पश्चात दुबै दललाई सरकारमा सहभागि गराएर मन्त्रालय बाँडफाँडको विषयमा टुंगो लगाउने बताएको छ।

बर्खास्तमा परेका दलहरुले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर काँग्रेसले ती दलहरुलाई सरकारबाट हटाए मात्रै विश्वासको मत दिने र सरकारमा सहभागि हुने अडान राखेपछि विश्वासको मत लिनुअघि नै चार दलका ६ जना मन्त्रीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेको हो ।

Facebook Comments Box