मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै
काँग्रेसले पनि विश्वासको मत दिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन् । उनले आज बिहान ११ बजे प्रदेशमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेको प्रदेशसभाका सूचना अधिकारी चन्दन कुमार ठाकुरले जानकारी दिएको छ । एक महिना अघि जेठ २५ गते ६ दलका ५५ जना सांसदको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा नियुक्त भएको थियो ।
मुख्यमन्त्री सिंहलाई नेपाली काँग्रेसका प्रदेश सांसदहरुले विश्वासको मत दिने सम्भावना रहेको काँग्रेसका प्रदेशसभा सदस्य संजय कुमार महतोले जानकारी दिएको छ । उनका अनुसार जनमतका मुख्यमन्त्री सतिश कुमार सिहलाई विश्वासको मत दिने सम्भावना छ । यद्यपि सो विषयमा अधिकारीकताका लागि बैठक बस्न लागेको उनले बताए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने र अन्य प्राविधिक विषयमा छलफल गर्न जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्न लागेको सांसद महतोले बताए । मधेश प्रदेशमा काग्रेसको २२ जना प्रदेश सांसद छन ।
यस अघि शुक्रवार नेकपा एमाले संसदीय दलको बैठकले जनमतका मुख्यमन्त्री सिहलाई विश्वासको मत दिने निर्णय गरेको थियो । मधेश प्रदेशमा एमालेको २५ जना सांसद छन् ।
प्रदेश सरकारका अर्थमन्त्री एवंम् नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले मधेशमा जनमत नेतृत्वको सरकार निरन्तरता पाउने र माओवादीले विश्वासको मत दिने बताए ।
मधेस प्रदेशसभामा १०७ प्रदेश सांसद रहेको छ । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । मुख्यमन्त्री सिंहलाई एमालेका २५, काग्रेसका २२, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका ९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का ७ प्रदेश, नेपाल संघिय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ जना प्रदेश सांसद विश्वासको मत दिन लागेको छ ।
जनता समाजवादी पार्टीका १९, लोसपाका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी १ जना प्रदेश सांसद उनको विपक्षमा छन् । मुख्यमन्त्रीलाई प्रदेश सभाको विश्वासको लागि ५३ जना प्रदेश सांसदको मत चाहिन्छ ।