मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शनिबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ २५ गते मधेश प्रदेशका लागि तेस्रो मुख्यमन्त्री चयन भएका सिंहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको कारण बजेट पारित नहुँदै विश्वासको मत लिन लागेका हुन् । उनले २१ गते नै विश्वासको मत लिन तयार रहेको जनाए पनि बजेट उपर छलफल प्रारम्भ भइनसकेको अवस्थाका कारण शनिबारका लागि तय भएको जनाइएको छ ।
प्रदेशसभामा बजेटको विषय लिएर सांसदहरुमा खैलाबैला छ । ह्याकरले बजेट बिगारेको भनेर स्वयम् मुख्यमन्त्री सिंहले सार्वजनिक रुपमै स्वीकार गरिसकेको अवस्थामा संशोधन नगरी पास गर्न नसकिने अडान सांसदहरुको छ । यहीँबीच उनले विश्वासको मत लिन लागेका हुन् ।
संघमा बदलिएको राजनीतिक परिवेशको असर मधेश सरकारमा पनि परेको छ । अन्य प्रदेशजस्तै प्रतिनिधिसभाका दुई ठूला दल मधेश प्रदेशमा दुवै ठूलो त हो तर दुवै मिलेर सरकार बनाइहाल्न सक्ने अवस्था भने छैन । त्यसैले केही मधेश केन्द्रीत दलहरुसँग सहकार्य गर्नु बाध्यताको कारण तत्काल जनमतलाई नै निरन्तरता दिन सकिने अवस्था आउन सक्ने कांग्रेस र एमालेका सांसदहरुको भनाई छ ।
यद्यपि, अहिलेसम्म विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संघको स्पष्ट निर्देशन आइनसकेको एक सांसदले बताए ।