‘जनमत सरकारको बजेट अहिलेसम्मकै धमिलो’

जनकपुरधाम । मधेश प्रदेशसभामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट उपर जारी छलफलको क्रममा सांसदहरुले जनमत नेतृत्वको सरकारले पछिल्ला सरकारहरुको तुलनामा सुशासनको पक्षमा काम गर्ने सोचेकोमा पहिलो गाँसमै ढुङ्गा परेको बताएका छन् ।
सरकार गठन प्रक्रियाले पुर्णता नपाउँदै ल्याइएको बजेटको प्रकृतिले विगतका सरकारहरुले भन्दा पनि भ्रष्टाचारको पश्रय दिने गन्ध आउन थालिसकेको टिप्पनी कांग्रेस सांसद श्याम पटेलले गरे । ‘करिब साढे छ वर्षसम्म एकसरो सरकारको नेतृत्व सम्हालेको जसपाले प्रदेशमा भ्रष्टाचारलाई बढावा दियो भनेर निकै आरोप लाग्यो’ प्रदेशसभामा बोल्दै पटेलले भने, ‘जनमतबाट मेरा परम मित्र मुख्यमन्त्री नियुक्त भएपछि भ्रष्टाचारलाई घटाउने अपेक्षा थियो मेरो । तर, यो बजेटको प्रकृति हेर्दा त अघिल्लो भन्दा पनि बढी भ्रष्टाचारको गन्ध आउन थालिसक्यो ।’
जीवनभर मुख्यमन्त्री र मन्त्री पदमा विराजमान रहिरहन कोही नसक्ने उल्लेख गर्दै सांसद पटेलले सरकारका मन्त्रीहरुलाई सम्झाउँदै भने, ‘आज मन्त्रीको आसनमा तपाई हुनुहुन्छ । भोली कोही अर्कै माननीय रहलान् । तपाईले सम्मान गरे मात्र तपालाई पनि सम्मान गरिनेछ ।’
कांग्रेसकै अर्का सांसद कौशल किशोर रायले अगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले सांसदहरुलाई अपमान गरेको गुनासो गरे । सर्लाहीस्थित आफ्नो क्षेत्रमा एक जना पार्टी कार्यकर्ताले एउटै वडाका लागि सात करोड बजेटको योजना राखेको चर्चा गर्दै उनले भने, ‘एक जना समान्य कार्यकर्ताले एउटै वडाका लागि सात करोडको योजना पाउनु अनि म निर्वाचित सांसदले सबै मन्त्रीको ढोका चहार्दा पनि पुग नपुग साढे तीन करोडको । यो कति औचित्य हो ?’
बजेट उपर जारी छलफलमा सत्ता पक्षका सांसद बसन्त कुशवाहाले ११ महिनासम्म हातमा हात राखेर बस्ने अनि असारमा भएभरको बजेट सक्न औपचारिकतामा सिमित हुने सरकारको विकृति अन्त्य गर्न सुझाए । ‘आज हाम्रै कारण बजारमा आर्थिक मन्दी छाएको छ । प्रदेश सरकारको बजेट खर्च नै हुँदैन । यस्तोमा न विकास हुन्छ न बजारमा अर्थ प्रवाह । सरकारको प्रवृतिले विकासमा बाधक त छँदैछ, बजारमा आर्थिक मन्दी पनि बढाएको छ । यो प्रवृति अन्त्य गरिनुपर्यो ।’