प्रादेशिक अस्पतालमा भ्रष्टाचारको पराकाष्ठाः अनुसन्धानको दायरामा डाइरेक्टर र रजिष्ट्रार

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पताललाई जर्जर अवस्थामा पुयाउने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रामनरेश पण्डित र रजिष्ट्रार विनोद यादव अनुसन्धानको दायरामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत पण्डित र यादवको क्रियाकलापलाई केन्द्र विन्दु बनाएर अनुसन्धान सुरु गरेको हो । बिहीबार प्रहरीसहित प्रतिष्ठानको कार्यालय पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको टोलीले पण्डित र यादवसँग रहेको सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।

अस्पतालमा अनधिकृत रुपले कर्मचारी भर्ना गरेको विषयलाई अख्तियारले छानबीनको दायरामा ल्याएको हो । उक्त कार्यको जिम्मा मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिइएको छ । मुख्यमन्त्री कार्यालयले मुद्दासँग सम्बन्धित सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिइसकेको उल्लेख गर्दै विधिवत् रुपमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको एक अधिकारीले न्यूज आजलाई जानकारी दिए ।

प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालले अस्पतालको उक्त विषयवारे चासो लिने माथिल्लो निकायवारे खुलेर नभनेपनि अस्पतालका निर्देशक र रजिष्ट्रारको संलग्नता रहेको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको बताए ।

‘संघीय सरकारको निगरानी राख्ने अड्डामा जनकपुर प्रादेशिक अस्पताल र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गडबड भएको विषयमा उजुरी परेको छ’ प्रमुख सचिव पौड्यालले भने, ‘उजुरी मुताबिक छानबिन गर्न ती अड्डाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुसन्धान गर्न परिपत्र गरेको छ । सोही अनुरुप हामीले कारबाही प्रक्रिया अगाडी बढाएका छौं ।’

प्रमुख सचिव पौड्यालले खुलेर भन्न नचाहेपनि जनकपुर प्रादेशिक अस्पतालमा कर्मचारी भर्नादेखि स्वास्थ्य इक्विपमेन्ट खरिद लगायत विषयमा भ्रष्टाचार भएको भन्ने उजुरीको चाङ रहेको बताएका छन् । ‘अहिलेको विषय अनुसन्धानको प्रक्रियामा रहेकाले धेरै कुरा भनिहाल्न मिलेन । तर, यति बुझ्नुस्, जनकपुर प्रादेशिक अस्पतालमा घोटालाको संकेतहरु छन् । बाँकी अनुसन्धान टुँगिएपछि मात्रै भन्न मिल्छ ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले प्रतिष्ठान अन्तर्गत अस्पताल तर्फ नयाँ भर्ना कर्मचारी प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अनुसन्धानको दायरामा राखिएको स्वीकार गरे । उनले भने, ‘घटना सही हो । अस्पतालले करिब तीन दर्जन पदका लागि गरेको विज्ञापन अनुसार कर्मचारी भर्ना प्रक्रियामा आर्थिक लेनदेनवारे उजुरी परेको छ । यसवारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।’

Facebook Comments Box