व्यवसायीकै कारण धारासायी हुँदैछ जनकपुरको व्यवसाय
जनकपुरधाम । संघीयता कार्यान्वयनसँगै प्रदेशमा संसद र सरकार सञ्चालन हुन थालेको सात वर्ष पुग्दैछ । यो अवधिमा प्रादेशिक राजधानी सहरको रुपमा जनकपुर क्षेत्रको विकासले एक तहसम्मको उचाई प्राप्त गरिसक्नुपथ्र्यो । तर, त्यस्तो हुन सकेको छैन ।
साँच्चै भन्ने हो भने, जनकपुरधाम उपमहानगरपालिकामा एशियाली विकास बैंकको ऋण अनुदानबाट सडक र नाला निर्माण नभइदिएको भए यो सहरलाई राजधानी भन्न कुनै पनि आधार रहने थिएन । हो, जानकी मन्दिर एक धरोहर हो । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।
तर, जानकी मन्दिरकै गरिमा कायम राख्न यहाँका व्यवसायीहरु असमर्थ भइरहेका छन् । जनकपुरका व्यवसायीहरुमा ‘सेवाभाव’ नरहेको भन्दै प्रदेशसभाको बैठकमै कयौंपटक कुरा उठिसक्यो । प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रादेशिक राजधानी तय गर्न बहस चलिरहँदा यहाँका व्यवसाय र व्यवसायीको व्यवहारवारे सांसदहरुले गुनासो पोखेका थिए ।
नजिकै रहेको बर्दिबासको तुलनामा जनकपुरको व्यवसाय निकै तल्लो स्तरको भएको टिप्पनी तत्कालिन प्रदेश सांसद करिमा बेगमले प्रदेशसभा बैठकमै बोलेकी थिइन् । उनको त्यो भनाई अहिले पनि प्रदेशसभामा रेकर्ड सुरक्षित छ ।
‘जनकपुरमा होटल महँगो छ, खाना महँगो छ’ पूर्व कृषि राज्य मन्त्री समेत रहेकी बेगमले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘जनकपुरका व्यवसायीहरुमा वेलकमिङ स्वभाव (सेवाभाव) पनि छैन । त्यसैले प्रदेशको राजधानी बरु, बर्दिबासमा राखौं तर जनकपुरमा राख्नु उचित हुँदैन ।’
एक ताजा प्रसंग जोड्न सकिन्छ । बिहीबार जनकपुरका एक जना पुराना होटल व्यवसायीलाई फोन गरी दुई जना पाहुनालाई खानाका लागि हालै सञ्चालनमा ल्याइएको नयाँ होटलमा ल्याउन चाहेको सल्लाह गरेँ । ती होटल व्यवसायी मित्रले पुरानो होटलमै ल्याउन सुझाव दिए, त्यहीँ राम्रो खानाको प्रबन्ध हुने उनको भनाई थियो । हामी गयौं । केही वेरपछि टेबुलमा खाना आयो । पाहुनाले खाना खाँदाखाँदै थप सब्जी मागे । वेटरले भने सब्जी थप्न नमिल्ने जवाफ फर्कायो । यस्तो किन भनेर सोधेपछि अलगै अर्डर गरेपछि बनाउन सकिने बतायो ।
मैले होटल साहुलाई फोन गरी गुनासो गर्दा आफ्नो होटलको व्यवस्था नै यस्तै रहेको भन्दै खानाको थाली सेटमा थप्न नमिल्ने भनेर उनले पनि जवाफ फर्काए । झन्, होटलको स्टाफले कतिसम्म भन्न भ्याए भने यो होटलमा स्थानीयलाई खाना नै बेचिदैन । खाना बेचेर प्रोफिट नहुने उनको भनाई थियो । त्यसो भए हामीलाई किन बोलाएको सोधेपछि उसले भन्यो, ‘त्यो साहुलाई नै सोध्नुस् ।’
साहुले भने, ‘तपाईलाई कति मन लाग्छ त्यति मात्रै पैसा दिनुस्, तर यहाँ यस्तै नियम हो ।’ मैले उनलाई भनें, ‘तपाईँले मसँग पुरै पैसा लिनुस् तर, यस्तो नियम नराख्नुस् जसले एक पटक होटलमा आइसकेका व्यक्ति फेरि आउन तयार नहोस् ।’
खाना त राम्रो नराम्रो खाइयो । जब बिल तिर्ने बेला आयो अनि शाकाहारी खानाको पैसा लियो ६ सय रुपैयाँ । तीन जनाको खानाको १ हजार ८ सय ५० । सवाल खाना महँगो र सस्तोको होइन । तर, उही व्यक्ति बर्दिबासको होटलमा गएर खाना खायो भने यो भन्दा राम्रो बोली, व्यवहार पाउँछन् र खाना पनि यहाँको भन्दा निकै सस्तो । भनेपछि जनकपुरमा किन आउँछन्, पर्यटक । आइहाले पनि खान र बस्न सकभर जनकपुर बाहिर नै रुचाउनुको कारण स्वयम् होटल व्यवसायीहरुकै क्रियाकलाप र व्यवहार हो ।
धार्मिक पर्यटनको अपार सम्भावना र आधार भएको जनकपुरधाममा भन्दा आवश्यक पानी समेत उपलब्ध नरहेको बर्दिबासमा होटलको संख्या धेरै भइसक्यो । र, जनकपुरधाममा रहेका होटलमा भन्दा बर्दिबासकै होटलको व्यापार बढी भइरहेको छ । आखिर किन ? यसवारे जनकपुरधामका व्यवसायीहरुले चिन्तन गर्ने कि नगर्ने ?