दाहाल र खनालसहित आधा दर्जनले रास्वपा त्यागे

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका आधा दर्जन जिल्ला नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

आइतबार उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी त्याग गरेको सार्वजनिक गरेका हुन् । रास्वपा चितवन जिल्ला सचिवालय सचिव भुवन खनाल, रवि लामिछाने निर्वाचित भएको क्षेत्रका उपसभापति जगदीश दाहाल, टंकबहादुर हिम्डुङ, निर्मला प्रजा बास्तोला, विकास श्रेष्ठ र श्याम सुन्दर राईले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जनतामा निराशा पैदा गर्ने पुराना राजनीतिक दलहरुको विकल्पमा स्थापना भएको रास्वपाप्रति धेरैको आशा भएपनि पार्टी नेतृत्व सत्तालिप्सा र भागबण्डाको राजनीतिमा केन्द्रित भएपछि बाध्य भएर पार्टी त्याग गरेको उनीहरुले विज्ञप्ती मार्फत भनेका छन् ।

‘पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिज्ञलाई, आफु राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा रहँदा प्रतिपक्षीलाई गाली गर्ने बाहेक केही गर्न सकेनन्’ उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

जनताले चिताएको राजनीतिक एजेण्डाजति सबै चुनावी नारामै सिमित हुने भएपछि यस्तो नेतृत्वमुनि रहेर राजनीति गर्न नसुहाएको भन्दै उनीहरुले आजैको मितिदेखि सधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन् ।

Facebook Comments Box
न्यूज आज