बजेट पुनर्लेखन गर्न चार दलको अल्टिमेटम

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई प्रतिपक्षमा रहेका चार दलले बजेटमा भएको त्रुटि सच्याउन ध्यानाकर्षण गराएका छन् । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत चार दलले लिखित रुपमै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अगामी आर्थिक वर्ष २०८१।०८२ को लागि सरकारले यही असार १ गते ल्याएको बजेटमा व्यापक त्रुटीसँगै लापर्बाही भएको भन्दै प्रतिपक्षी दलहरुले सच्याउनका लागि माग गरेका छन् ।
‘पिएलएमबिआइएस ह्याकरहरुबाट ह्याकगरी बजेट प्रविष्ट गरिएको भन्ने विषयमा स्वयम् मुख्यमन्त्री र मन्त्रीहरुले स्वीकारेको अवस्था छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो समान्य कमजोरी होइन ।’
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोज कुमार यादव, लोसपा नेपालकी प्रमुख सचेतक रानी कुमारी तिवारी र राप्रपा नेपाल संसदीय दलकी नेता कञ्चन विच्छा संयुक्त रुपमा मुख्यमन्त्री सिंहलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रतिपक्षी दलहरुले मुख्यमन्त्री सिंहसँग तीन सुत्रीय माग राखेका छन् । सरकारी संयन्त्रभन्दा बाहिरबाट बजेट प्रविष्ट भएको विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, बजेट पुनर्लेखन गरी प्रदेशसभामा छलफल हुनुपर्ने र बजेट पुनर्लेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने माग उनीहरुको छ ।
