आज धान दिवस

जनकपुरधाम । असार १५ को दिन देशभर धान दिवस मनाउने चलनले पछिल्लो केही वर्षदेखि निरन्तरता पाएको छ । असार महिनाभर धान रोपाईँ हुने भएकाले असारको मध्य अर्थात् १५ गतेको दिनलाई धान दिवसको रुपमा मनाउन लागिएको हो ।

नेपालको सन्दर्भमा तराई मधेश क्षेत्र धान उत्पादन हुने मुख्य भुगोल हो । यस क्षेत्रमा अधिकांस खेतीयोग्य जग्गामा प्रमुख बालीको रुपमा धानखेती हुनेगरेको छ । जेठ महिनामा धानको ब्याड लगाउने र साउनको मध्यसम्म रोपाईँ सक्ने किसानको समान्यतया तयारी रहेको हुन्छ ।

तर, आकाशे पानीको भरमा हुने रोपाईँको यकिन सिजन नै हुँदैन । वर्षा भयो, खेतमा पानी जम्यो भने ब्याडमा बीउ कलिलै भएपनि रोपाईँ गरिन्छ नभए साउनको अन्तिमसम्म पर्खिनु परेको कयौं वर्षको अनुभव किसानले संगालेका छन् ।

सरकारले पछिल्लो समय भूमिगत सिँचाईको प्रविधिलाई फोकस गरेपनि अझै अधिकांस धानखेती आकाशेपानीको भरमा गर्नुपरिरहेको छ ।

पछिल्लो तीन वर्षदेखि मध्य पुर्वी तराई मधेशको क्षेत्रमा सिँचाईको भरपर्दो व्यवस्थाका लागि भन्दै राष्ट्रिय गौरवको योजनामा राखेर सुनकोशी–मरिण नदी डाइभर्सन आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोशी–कमला–बागमती डाइभर्सनका लागि पनि तयारी अघि बढेको बताइन्छ ।

त्यस्तै, मध्य पश्चिम तराई क्षेत्रमा भेरी बबई डाइभर्सन योजनाको काम धेरै अगाडि बढिसकेको छ । यी आयोजनाहरु सम्पन्न भएर कार्यान्वयनमा आए तराई मधेशलाई धानको विशेष पकेट क्षेत्र बनाएर देशलाई पुग्नेजति धान फलाउन सक्ने आधार रहेको जानकारहरु बताउँछन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज