नेपाली विदेशतिर, विदेशी नेपालमा

जनकपुरधाम । नेपालमा रोजगारी नपाएको भन्दै लाखौ नेपाली नागरिक काम खोज्दै वैदेशिक भूमिमा भौतारिरहेका छन् । यता, विदेशी नागरिक नेपालमा काम गर्न आउने क्रम बढिरहेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विदेशी कामदारले नेपालमा श्रम स्वीकृति लिएको तथ्याङ्कले यो पुष्टी भइरहेको छ ।

नेपालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा रोजगारीका लागि विभिन्न ६९ देशका नागरिकले श्रम स्वीकृति लिएका छन् । गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा २ हजार ३३६ जना विदेशी नागरिकले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

विदेशी लगानीमा निर्माण भइरहेका ठूला आयोजना तथा परियोजनामा काम गर्न विदेशी नागरिकहरु नेपालमा काम गर्न आउँछन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले बढीमा पाँच प्रतिशतसम्म विदेशी नागरिकलाई श्रमिकको रुपमा राख्न सक्ने प्रावधान छ ।

नेपालबाट दैनिक करिब दुई हजार नागरिक काम खोज्दै विदेश गइरहेका छन् । तर, उच्च दक्ष जनशक्ति नपाउँदा नेपालमा विदेशी नागरिकलाई काम गर्न अनुमति दिनु परेको सरकारी स्रोतको भनाई छ ।

गत आर्थिक वर्ष नेपालमा काम गर्न आउने विदेशी नागरिकको संख्या २ हजार ९९४ छन् ।

Facebook Comments Box
    ट्याग: