ज्येष्ठ नागरिकलाई वडाध्यक्षको सम्मान

प्रमोद शर्मा, सबैला । धनुषाको सबैला नगरपालिका –१३ वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा क्षेत्रमा बसोबास गर्ने ८० वर्षभन्दा बढी उमेर भएका नागरिकहरुलाई पोशाक वितरण गरी सम्मान गरिएको हो ।
वडा अध्यक्ष देवनारायण महतोले ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको उपस्थिति अनुभूति गराउन उपहार सहित सम्मान गरिएको बताए । ‘जीवनको महत्वपूर्ण समय नगर क्षेत्रका लागि अर्पण गरेका नागरिकहरुलाई स्थानीय सरकारको उपस्थितिको अनुभूति गराउन आवश्यक छ’ अध्यक्ष महतोले भने, ‘जीवनको उतराद्र्धमा पुगेका ती नागरिकले आफुलाई एक्लो रहेको सोचमा पर्न नदिन पनि सम्मानको महत्व छ ।’
सम्मान समारोहलाई सम्बोधन गर्दै न्यूज आजका सम्पादक सुरेश यादवले ज्येष्ठ नागरिकलाई जीवन्त भगवानको संज्ञा दिए । उनले भने, ‘परम्परागत जीवनशैलीमा जन्मे हुर्केका ती नागरिक जो आज आधुनिक समाजको क्रियाकलापको सामना गर्नु परिरहेको छ उनको भावनालाई हामीले सम्मान गर्न सक्नुपर्छ ।’
दश वर्ष अगाडिसम्म समाजमा देखिने रोगव्याधीको प्रकोप यतिबेला कयौं गुणाले वृद्धि भइसकेको उल्लेख गर्दै उनले थपे, ‘हिजो समाजमा जति मेलमिलाप थियो आज परिवारभित्र पनि त्यति बाँकी रहन सकेको छैन । यो ठूलो चिन्ता र चिन्तनको विषय हो ।’
पत्रकार यादवले हजुरबुवाको पुस्ता र नातीको पुस्ताबीचको खाडल पुर्न स्थानीय सरकारले नेतृत्वदायी भूमिका खेल्न नसकिरहेको गुनासो गरे । चार–पाँच दशक पुरानो संस्कार र संस्कृतिलाई समाजमा फर्काउन आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि अन्तर पुस्ता सम्वादको आवश्यक्ता औंल्याए ।
कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन, अन्य वडा अध्यक्षहरु रामनारायण अधिकारी, सरोज यादव, विभिन्न दलका प्रतिनिधि लगायतको उपस्थिति थियो । वडा कार्यसमितिले सबैला –१३ का ६८ जना ज्येष्ठ नागरिक तथा सरकारी सेवाबाट अवकाशप्राप्त १५ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
महिला ज्येष्ठ नागरिकहरुलाई साडी, पेटीकोट र चोलो तथा पुरुष ज्येष्ठ नागरिकलाई धोती, कुर्ता र गम्छा दिएर सम्मान गरेको वडा सचिव गीता महतोले जानकारी दिइन् ।