सर्प पालनमा फँसे मधेशका पूर्व अर्थमन्त्री

जनकपुरधाम । मधेश प्रदेशमा सर्प पालनका लागि बजेट विनियोजन गरेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसमेत पाँचजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सर्लाहीको लालबन्दी नगरपालिकामा सर्प पालन गरिएको थियो । सर्पदंश सम्बन्धी उपचारमा काम लाग्ने औषधी एन्टीभेनम उत्पादन गर्ने उदेश्यले गरिएको सर्प पालन कार्यमा भ्रष्टाचार भएको अदालतको ठहर हो ।

लालबन्दीमा सर्प पालनका लागि एन्टीभेनम प्रोडक्शन एण्ड रिसर्च सेन्टर सञ्चालन गरिएको छ । मन्त्री यादवसमेत प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय उक्त मुद्दामा दोषी ठहर भएका हुन् ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो ।

प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएकोमा बजेट निकासा भएपनि कामै नगरी करिब रू १८ करोड रकम हिनामिना भएपछि अख्तियारले २०८० साल असोज २१ गते विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको थियो ।

अदालतले दोषी ठहर गरेकाहरूको सजाय निर्धारणका लागि असार २५ गते पेशी तोकेको छ ।

Facebook Comments Box