पशुपतिनाथको ‘आरती’ र मेरो मनको ‘भाव’
झमक्क साँझ परे संगै मानिसहरुको चहलपहल बढ्दै गयो । सधै झैँ श्री पशुपतिनाथ मन्दिर पछाडी बागमतीको किनारमा आरती सुरु हुनै लागेको थियो । हजारौं मानिसहरुको भीडमा हामीलगायत विदेशीहरु पनि आरती हेर्न कुरिरहेका थिए ।
बानी भनुम् कि आस्था, मन्दिर देख्नासाथ टाउको निहुर्याएर हातले शिर र छाती छोइहाल्नु पर्ने ।
“भोले बाबा कि” भनेर गुरुले सुरु गर्नु भयो । लगभग सबैले दुवै हात उठाउँदै “जय” भन्न थाले । मैले नि साथीहरुले देख्लान् कि भनेर अप्ठेरो मान्दै थोरै हात उठाएर बिस्तारै मनमनै “जय” भन्दिएँ ।
तीनजना गुरुहरुले आरती सुरु गर्नुभयो । अर्को एकजना गुरुले चँै बडो मिठो आवाजमा हार्मोनियम बजाउँदै भजन गाउन सुरु गर्नुभयो र सोही तालमा थपडी बज्दै थियो ।
गुरुको भजन र मादलको ताल बढेसंगै थपडी पनि बज्दै गयो । त्यो थपडीको आवाज यति मज्जाको सुनिएको थियो कि मानौं ती हजारांै मानिसहरुले सयौं पटक अभ्यास गरेर प्रदर्शन गरिरहेका छन् । सोही धुन र तालमा मेरा हात पनि चलिरहे ।
आरती सुनीरहँदा त्यहाँ छुट्टै खालको गन्ध आइरह्यो । चार पाँचजना मानिसका शव आरती संगै जलि रहे । ती जलिरहेका शवको धुवाँले पक्कै पनि वरिपरी बसेका सबै मानिसहरुलाई जीवनको ठुलो सत्यको अनुभूति गराइरहेको थियो ।
मेरो मनमा पनि धेरै कुराहरु आइरहे । सधैंको दौडधुप, पढाई, करिअर, परिवार सबै झल्झली फ्लाश ब्याक जसरी आइरहयो । कता कता म पनि यो सत्यको तलाशमा थिएँ ।
मेरा एकजना कलेजको टिचरले भन्नुहुन्थ्यो “सब नाटक हो, हामी नाटकको पात्र हौं, जो परिस्थिति अनुसार नाच्न सक्छ त्यहीँ व्यक्ति मात्र अगाडी बढ्न सक्छ ।” अहिले सम्झिदा सरको कुरा हो जस्तो लाग्न थालेको छ । के म नाच्न सकेको छु त ? भनेर आफैलाई प्रश्न गरेँ तर उत्तरमा केवल एउटा मुस्कान आयो ।
भोले बाबाको भजनको तालमा धेरै जसो नाचिरहेका थिए । कोही भने ताण्डब पनि देखाइरहेका थिए । विशेष गरी खरानी घसेका जोगीहरु । कोही भने टिकटकमा लाइभ बसेर संसारलाई आरती हेर्न आमन्त्रित गरिरहेका देखिन्थे । प्रायः ले चैँ आफ्नो फोनबाट फोटो र भिडियो लिइरहेका थिए ।
म भने त्यो क्षणमा मन्त्रमुग्ध भएर टोलाइरहँे । जीवनको गहिरो सोचमा डुबीरहँे । जीवनको सत्यतालाई बुझ्न खोजिरहेँ ।
त्यो क्षणमा डुब्दा डुब्दै मेरा आँखाहरु रसाएर छछल्किन थाले । मानौँ त्यही पलमा सबै मनको भारी बिसाइरहेछु । मन हलुङ्गो हुँदै गयो र यो पाली “जय” भन्दा चैँ मैले यता उति कतै नहेरी बस दुवै हात माथी उठाएर “जय” भन्दै सारो आवाजमा कराइरहे । यसो गर्दा मन भित्रै देखि सुकुन महसुस भयो । लाग्यो कि अब फेरी म मा केहि उर्जाहरु आइरहेका छन् । सायद यही कारणले पो हो कि; यी हजारौ मानिसहरु यहाँ भेला भएर बसेका ।
नभन्दै मानिसहरु छटपटिन थाले । आरती लगभग सकिन लागेको थियो । अघि अनुशासित भएर थपडीको तालमा ताल मिलाएर बसेका अहिले ठेलमठेल गर्दै आ–आफ्नो गन्तव्य तिर हिँड्न लागे । मैले नि घर जाने निधो गरेँ र पछाडी फर्केर श्री पशुपतिनाथलाई ढोग्दै आजको मनको शान्तिको लागि धन्यवाद भने ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा