पहाडमा पहिरो, दुईको मृत्यु चार बेपत्ता

जनकपुरधाम । मंगलबार रातिदेखि सुरु भएको अविरल वर्षाले पहाडी जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो जनधनको क्षति भइरहेको छ । पछिल्लो १२ घण्टामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

कास्कीको मादी गाउँपालिका –५ चितेपानी घुम्तीमा खसेको पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा परेकी आयुष्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारालाई स्थानीयले उद्धार गरेका छन् । घाइते लालमायाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका –२७, आरुपाटामा खसेको पहिरोमा परी ३१ वर्षीय हरि सुनारका ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा अनमोलकी आमा रितु घाइते भएकी छिन् ।

यता, लमजुङ पहिरोले दुईवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका –३ मा मंगलबार राति आएको पहिरोले स्थानीय रुद्रमणि गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो ।

पहिरोमा परेका रुद्रमणि र पञ्चकुमारीसमेत चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डिएसपी मीनबहादुर घलेका अनुसार बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

Facebook Comments Box
न्यूज आज