योग तथा ध्यान सप्ताहमा महिला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा १ नम्बर वडा कार्यसमितिले आयोजना गरेको योग तथा ध्यान सप्ताहमा स्थानीय महिलाहरु उत्साहका साथ सहभागी भइरहेका छन् ।

डायमण्ड वल्र्डवाइडको प्राविधिक सहयोगमा आयोजित सप्ताहको पाँचौ दिन मंगलबार सहभागी महिलाहरुले जीवन परिवर्तनको एकमात्र भरपर्दो आधार योग र ध्यान भएको बताएका छन् । ब्रम्हमुहुर्तको समयमा ओछ्यान छोडेर बाहिरको हावा स्पर्श गर्दै विधिपुर्वक योग एवम् ध्यान गर्दा तन र मन दुवै प्रसन्न भएको अनुभूति भइरहेको उनीहरुले बताए ।

योग एवम् ध्यान सप्ताहमा पाँचौ दिन सहभागी रहेकी स्थानीय मञ्जु साहले आफैसँग रहेको समयलाई सदुपयोग मात्रै गर्न सके शारीरिक एवम् मानसिक स्वास्थ्यको समस्याबाट सदाका लागि मुक्ति पाउन सकिने बताउँछिन् ।

ADVERTISEMENT

‘यस्तो पवित्र कार्यवारे यतिका दिनसम्म म किन अनभिज्ञ भइरहेँ भन्नेमा मलाई पछुतो भइरहेको छ’ मञ्जुले भनिन्, ‘शरीर शुद्धिका लागि योग र मन शुद्धिका लागि ध्यान जस्तो पवित्र अर्को कुनै पनि विकल्प होला भन्ने कल्पना गर्न सक्दिन ।’

वडा अध्यक्ष मिथिला शाहको पहलमा आयोजित यो सप्ताहले वडाबासी महिलाहरुमा अपूर्व उत्साह र सन्तुष्टी प्रदान गरिरहेको वडा सदस्य मंगला यादवले बताए । उनले भने, ‘हामीले बजेट खर्च गर्न त अनेक काम गरेका छौँ तर योगा र ध्यान जस्तो पवित्र एवम् जनहितकारी कार्यको अनुभूति पहिलो पटक भइरहेको छ ।’

बिहीबारसम्म चल्ने सप्ताहमा दैनिक ५० जनाभन्दा बढी स्थानीय महिलाको सहभागिता भइरहेको योग एवम् ध्यान सप्ताहका अगुवा प्रशिक्षक जगदीश ठाकुरले जानकारी दिए । उनले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्न यस्तो सप्ताह हरेक पालिकाको हरेक वडा र बस्तीमा सञ्चालन हुनुपर्ने धारणा राखे ।

Facebook Comments Box
न्यूज आज