कमलाको झुलुंगे पुलमा मोटरसाइकल निषेध
स्थानीय भन्छन्-अहिलेसम्म कुनै किसिमको रोकाबट छैन्
जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगे पुलमा मोटरसाईकल आवतजावतमा रोक लगाइएको छ । दुबै जिल्लाका प्रशासनले कठाल मल्हनिया मल्टीस्पान १५००.४४ मीटर लामो झोलुंगे पुलमा मोटरसाईकललाई आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिए ।
उनका अनुसार सस्पेन्सन बृज डिभिजन कार्यालय पुलचोक ललितपुरको परिपत्र अनुसार पुलमा मोटरसाईकललाई प्रतिबन्ध लगाइएको छ। त्यहाँबाट शुक्रबार सो पुलमा मोटरसाईकल आवतजावतमा रोक लगाउन हामीलाई र सिरहा प्रशासनलाई पत्राचार भएको छ, उहाँले भन्नुभयो, सोही अनुसार पुलमा मोटरसाईकललाई प्रतिबन्ध लगाइएको छ ।
पुल दुबै जिल्लामा पर्ने भएकोले यताबाट हामीले रोक लगाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई शुक्रबारै पत्र लेखि सकेको छु, प्रमुख जिल्ला अधिकारी कडरीयाले भने, अब उताबाट सिरहा प्रहरीले पनि रोक्छ होला । धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल र सिरहाको सिरहा नगरपालिका १३ मल्हनिया जोड्ने यो पुलमा मोटरसाईकललाई प्रतिबन्ध लगाउन बृज डिभिजनले शुक्रबार पत्राचार गरेको थियो ।
पुल नितान्त पैदलयात्रीलको लागि मात्रै डिजाईन भएकोले मोटरसाईकल प्रयोगमा प्रतिबन्ध लगाउन बृज डिभिजनले पत्राचार गरेको हो । पुलमा मोटरसाईकल प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने भाईब्रेसन, इम्प्याक्ट र जर्कको असर पुल डिजाईनमा समावेश नहुने भएकोले मोटरसाईकल प्रयोग गर्दा पुलको संचरनाले नथेग्ने र पुल छिट्टै जिर्ण भई आयुनै घट्ने जाने तथा दुर्घटनाको उच्च जोखिम समेत हुने हुँदा मोटरसाईकल प्रयोगमा प्रतिबन्ध लगाउन व्यवस्था मिलाईदिनुहुन भनी बृज डिभिजनले प्रशासनलाई भनेको छ ।
गत माघ १९ गते सम्झौता अवधि भन्दा ६ महिना अगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पुल यतिबेला पर्यटकीय गन्तव्यको रुपमा स्थापित भईरहेको छ । पुलमा दैनिक पाँच हजार भन्दा बढी स्थानीय तथा भारतबाट सर्वसाधारणहरु पुलमा घुम्न आईरहेको पुलको निर्माण कार्यमा स्वयंसेवकका रुपमा खटिनुभएका स्थानीय बिनोद मण्डल बताउछन् ।
पुलमा चाडपर्वको बेला झन भिड लाग्ने गरेको छ । गत साता मुस्लिमहरुको पर्व बक्र ईदमा लगातार तीन दिनको भीडभाडको ओभरलोडले पुलमा सामान्य क्षति भएको थियो । कुनै पनि आयोजनाको निर्माण कार्य सम्पन्न हुँदा एक वर्षसम्म ठेकेदारले मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ । सोही अनुरुप बुधबार पुलमा क्षति भएपछि बिहिबार ठेकेदार कम्पनीका प्राविधिकले मर्मत गरेको थियो ।
प्रशासनले पुलमा मोटरसाईकललाई रोक लगाएको जानकारी दिए । तर अहिले पनि पुलमा मोटरसाईकल निर्वाध रुपमा चलिरहेको स्थानीय मण्डलले बताउनुभयो । उनका अनुसार पुलमा अहिलेसम्म कुनै किसिमको रोकाबट छैन् ।
‘यता पुलमा मोटरसाईकललाई प्रतिबन्ध लगाउने भएपछि दुःखी छन्, जनकनन्दनी गाउँपालिका ५ उदहाका बिरेन्द्र मण्डल । उनी भन्छन्, कमला नदीमा बाढी आएको बेला धनुषा र सिरहाका आम सर्वसाधारणलाई आवतजावत गर्न विकल्पको रुपमा पुल थियो । हामी खुशी थियौं । अब बन्द हुने भएपछि अप्ठयारो हुने भयो ।’ महेन्द्र राजमार्ग भन्दा यता भारतको सीमासम्म कमला नदी वारपार गर्न हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको निर्माण कार्य अलपत्र हुँदा केही अघि मात्रै बनेको झोलुंगे पुललाई सर्वसाधारणले आवतजावतका लागि विकल्पका रुपमा लिएका थिए ।
सिरहाबासीलाई मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न यो बाटो निकै सहज छ । उता कमलाको पुल अलपत्र र यता झोलुंगे पुलमा मोटरसाईकलको प्रतिबन्धले फेरी सिरहाका आम सर्वसाधारणलाई ३० किलोमिटरको साटो जनकपुरधाम पुग्न ९० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।
यो झोलुंगे पुलको चौडाई एक दशमलव दुई मिटर चौडाइ र भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ । यस्तै पुलमा एक पटकमा यात्रीको भार क्षमता ३ हजार ८ सय ८६ पैदल यात्रीको छ ।