आखिर यो वर्षपनि नबन्ने भयो ‘कमला पुल’

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनु अगावै भासिएको यो पुल तीन वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।

गत चैत्र १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुलको निर्माण कार्य सम्पन्न गर्न निर्दशन दिएका थिए । उपप्रधानमन्त्री समेत रहेका महासेठले दिएको म्याद सक्न एक हप्ता बाँकी रहँदासम्म पुल निर्माण कार्यको प्रगति भने शुन्य छ ।

‘करिब १३ वर्षदेखि निर्माणाधिन यो पुलको पुनः निर्माण कार्य समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारवाही हुन्छ’ निर्माणाधिन पुलको निरिक्षण गर्दै उपप्रधानमन्त्री महासेठले चेतावनी दिएका थिए ।

पुलको निर्माण कार्य यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्ण कुमार महतो बताउँछन् । कमला पुलको विषयमा खासै चासो नै देखाउन नचाहने निर्देशक महतोले पुल निर्माण कार्यको प्रगति पनि यकिन नभएको बताए ।

मधेश प्रदेशको ‘लाइफलाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । वि.संं. २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु लुम्बिनी जेभीसँगको ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।

लुम्बिनी बिल्डर्सको कमाण्डमा निर्माणको काम अन्तिम चरणमा पुगिसकेको थियो । २०७८ साउनमा उद्घाटनको तयारी समेत गरिसकेको अवस्थामा त्यसअघि नै पुल भासियो । १३ वटा पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भाँसिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवादले हालसम्म पुल बन्न नसकेको निर्देशक महतोको भनाई छ ।
सरकारी निकायको कुनै पनि ठेक्कापट्टा गर्दा १० लाख भन्दा बढीको आयोजनामा सो आयोजनाको बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार पुल निर्माण कम्पनीले बिमा गराएको थियो । तर, पुल भासिएपछि बिमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण पुल बन्न नसकेको उनको भनाई हो ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले पनि यो वर्ष पुलको निर्माण कार्य सम्पन्न गर्न नसक्ने स्वीकारेका छन् । उनले कमला पुल पुनः निर्माणको लागि अहिलेसम्म डिजाइन पनि पास नभएकोले यस वर्ष पुल बनाउन नसकिने बताए ।

‘पेस गरिएको डिजाइन मध्ये एउटा धनुषा तर्फको डिजाइन बल्ल पास भएको छ । दुई तीन दिन अघि हाम्रो कम्पनीले पुनः निर्माणको लागि गरेको डिजाइन मन्त्रालयमा बुझाए, उनले भने, सिरहातर्फको डिजाइन अहिले पास पनि भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?’ प्रबन्ध निर्देशक शर्माको प्रति प्रश्न छ ।

‘बर्खामा त के बन्छ र ?’ प्रबन्ध निर्देशक शर्मा भन्छन्, ‘नदीमा बाढी आउने समय पनि आइसक्यो अब असोज कार्तिकबाट मात्रै निर्माणको काम अगाडि बढ्छ । २०८१ असार मसान्तसम्म मात्रै पुल निर्माणको म्याद रहेकोमा प्रबन्ध निर्देशक शर्मा म्याद थप भइहाल्नेमा ढुक्क छन् ।

उनले बिमा प्राधिकरणसँग पनि उच्च अदालत काठमाडौंमा मुद्दा चलिरहेको कारण निर्माणमा ढिलाइ तर्क गरे । प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि इन्स्योरेन्स कम्पनीसँग १२ करोड क्षतिपूर्ति माग गरेको थियो । ‘तर, इन्स्योरेन्स कम्पनीले २ करोड मात्रै दिन्छु भन्यो’, उनले भने, ‘त्यसपछि बिमा प्राधिकरणमा उजुरी दिएका थियौँ । त्यहाँबाट समस्या समाधान नभएपछि उच्च अदालत गएका हौं । उच्च अदालतमा जेठको तेश्रो साता मुद्दा दर्ता गराएको उनले बताए ।

अहिले पुलमा सामान्य निर्माणको कार्य भईरहेको छ । प्रबन्ध निर्देशक शर्मा भन्छन्, ‘अहिले आफ्नै निजी लगानीमा काम गर्दैछु । मुलुक आर्थिक संकटमा भएको अवस्थामा पनि सकेजति निजी लगानीमा काम गर्दैछु’ उनको भनाई छ । यस कामका लागि सरकारले सहयोग नगरेको उनको आरोप छ ।

कमला पुल नबन्दा धनुषा र सिरहाका सर्वसाधारणको जनजीवन प्रभावित भएको सिरहा नगरपालिका –१७ का प्रविन यादव बताउँछन् । उनी भन्छन्, ‘पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पनि पुग्न गाह्रो छ ।’ पुल नबन्दा सिरहाको आर्थिक विकास पनि रोकिएको उनले बताए ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नुपरेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका सर्वसाधारणहरु गम्भिर उपचार गराउन ३० किलोमिटर दुरीमा रहेको जनकपुरधाम पुग्न नसकी कोशी प्रदेशको राजधानी बिराटनगर पुग्नुपर्ने बाध्यता छ । सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्छ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्न जान्छ ।

Facebook Comments Box
न्यूज आज