‘गुठीको जग्गा प्रशासन, प्रतिनिधि र पत्रकारले लुटेर खाए’

जनकपुरधाम । संघीय संसदमा उठ्यो आवाज, ‘जनकपुरमा गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, ठेकेदार र पत्रकारले लुटेर खाए ।’ बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले यो आरोप लगाएका हुन् ।

सांसद झाले जनकपुरधाम क्षेत्रमा विभिन्न मठ, मन्दिरले दशकौ अगाडि दानमा प्राप्त गरेका हजारौं विगाहा जग्गा दिनदिनै मासिएपनि सरोकारवाला पक्षले चुइँ शब्द नबोलिरहेको समयमा यस्तो आवाज उठाएका हुन् ।

यस अघि रास्वपा अध्यक्ष समेत रहेका गृहमन्त्री रवि लामिछानेले जनकपुरधाममा अतिक्रमणमा परेका ९ हजार विगाहा जग्गा फिर्ता ल्याउनेगरी आफ्नो नेतृत्वको प्रहरी प्रशासनले अग्रसरता लिइसकेको पत्रकार सम्मेलनै गरी घोषणा गरेका थिए ।

ADVERTISEMENT

सांसद झाले स्थानीय प्रशासन, जनप्रतिनिधि, ठेकेदार र पत्रकारले मिलेर जनकपुरधाममा रहेको गुठीको जग्गा लुटेर खाएको आरोप लगाउँदा संरक्षकको जिम्मेवारीमा रहेका मठ, मन्दिरका महन्त, पुजारी र गुठी कर्मचारीको संलग्नतावारे चर्चा गरेनन् । यद्यपि, झाले गम्भिर आरोप लगाएका छन् ।

देशको गृहमन्त्रालय सम्हाल्ने पार्टीका सांसदले यतिसम्मको आरोप लगाइसकेपछि अन्य नागरिक वा राजनीतिकर्मी जस्तै यो विषयलाई बेचेर राजनीतिक ओज बढाउनका लागि मात्रै झाले यस्तो भनेका हुन् कि साँच्चिकै जग्गा फिर्ता गराउन । यो बुझ्न पनि धेरै समय पर्खिनु पर्दैन । जसको हातमा प्रहरी, प्रशासन र राज्यलाई हाँक्ने शक्ति छ, तिनले हावा कुरा गरेर मात्रै हुँदैन ।

सतही रुपमा हेर्दा पनि झाले भनेको कुरामा सत्यता नदेखिने होइन । तर, उनले कसैलाई तर्साउन र आफु चोखो भएको देखाउन मात्रै यसरी संसद जस्तो राज्यको महत्वपुर्ण स्थानमा शून्य समय खर्चिन मिल्दैन । उनले आफु सम्बद्ध पार्टी अध्यक्षलाई जनकपुरधाममा राखेर वा नराखेर गृह मन्त्रालयको ताकत राज्यको पक्षमा प्रयोग गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

सांसद झाले बोलेको कुरालाई कार्यान्वयन गर्न अग्रसर भए उनले भनेजस्तै लुट्ने काममा लागेका बाहेक आम जनकपुरबासीको साथ पाउने छन् ।

Facebook Comments Box
न्यूज आज