महासेठविरुद्ध रोष्ट्रममै खन्निए लिङ्देन, जुली भन्छिन्, ‘फरक पर्दैन’

जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेर आक्रोश पोखेका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्लामा धेरै बजेट लगेको भन्दै लिङ्देनले आक्रोश पोखेका हुन् ।
प्रतिनिधिसभामा मंगलबार मन्त्रालयगत बजेटमाथिको छलफल चलिरहेको थियो । सोही क्रममा बोल्ने मौका पाएपछि लिङ्देन निकै आक्रोशित भएर प्रस्तुत भए । ‘रघुवीर महासेठ देशका मन्त्री हुन् कि मात्र धनुषाको ?’ लिङ्देनले आक्रोशपुर्ण प्रश्न पोखे, ‘उहाँले संसदीय मर्यादा विपरित काम गर्नुभयो । कुनै निर्वाचन क्षेत्रले बजेटको मुखै देख्न नपाउने कतै अर्बौ थन्क्याइदिने ?’
राज्यस्रोतमाथि मनपरी भएको उल्लेख गर्दै उनले आक्रोशको सीमा नाघे, ‘समान्य लाज पनि नराखेर राज्यस्रोतमाथि मनपरी गर्ने ?’ आफु पनि जनताकै भोट पाएर संसदमा आएको बताउँदै उनले थपे, ‘कसैको निर्वाचन क्षेत्रमा तपाईको मन्त्रालयबाट एउटा पनि योजना पर्नुनपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? के विधि, के तरिका हो ? यो कुरा भन्नु पर्यो । थाहा दिनुपर्यो।’
उपप्रधानमन्त्री महासेठ विरुद्ध लिङ्देनले ‘लाज’ कै शब्द प्रयोग गरेर आक्रोश पोखेपनि एमाले सांसद एवम् पुर्व मन्त्री समेत रहेकी महासेठ पत्नी जुली महतोले यसले केही फरक नपर्ने बताउँछिन् ।
‘सबभन्दा पहिले बुझ्नुपर्ने कुरो के हो भने महासेठजीले आफ्नो घर बनाउन राज्यको स्रोत दुरुपयोग गर्नुभएको होइन । आज धनुषालाई धेरै बजेट किन आवश्यक पर्यो भनेर सोच्ने कि नसोच्ने ?’ उनले न्यूज आजसँग भनिन्, ‘जनकपुरधाम राजधानी सहर हो । जनकपुरधामको १ नम्बर वडाको बस्तीमा घुमेर हेर्नुस्, नाक थुनेर घर बाहिर निस्किनुपर्ने बाध्यता छ ।’ सांसद जुलीले यस अघिका बजेटहरुमा धनुषा नहेपिएको भए आज धेरै बजेट ल्याउनुपर्ने आवश्यक्ता नरहने बताइन् ।
धनुषामा यसपाली आएको भन्दा बढी बजेट अहिले पनि लिङ्देनले प्रतिनिधित्व गर्ने जिल्लामा रहेको ठोकुवा गर्दै जुलीले चुनौति दिइन्, ‘यस अघिका वर्षमा धनुषामा भन्दा दशौं गुणा बढी बजेट झापामा लग्न मिल्छ अनि सँधै पछि पारिएको धनुषामा विकास गर्नै हुँदैन ? यदि यस्तै हुने हो भने साबित गर्नुस्, यो कहाँको सिद्धान्त हो ? कतिको न्यायोचित हो ?’