मिथिलामा गंगा दशहरा मनाइँदै
जनकपुरधाम । आज गंगा दशहरा । दश दिनसम्म मनाउने पर्व हो गंगा दशहरा । आजको दिन गंगा नदीमा स्नान गर्दा सबै प्रकारको पापबाट मुक्ति पाउने जनविश्वास रहेको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व दशमीसम्म १० दिन मनाइन्छ ।
सीता मातालाई रावणले हरण गरेपछि रावणको वध, लङ्कामाथि विजयी र सीतालाई फर्काउन भगवान श्रीरामले प्रतिज्ञा गरेका थिए । उक्त सबै संकल्प पुरा गर्न १० दिन लागेको थियो । सोही बेलादेखि यो दशहरा पर्व मनाउन थालिएको बताइन्छ ।
त्यो बेला लङ्का जानलाई १०० योजन अर्थात् ४०० कोशको समुद्रको पुल बनाएर तर्नु पथ्र्यो । पुल निर्माण गर्न चानचुने कुरो थिएन । बाँदर श्रेष्ठ नलको नेतृत्वमा पुल निर्माण कार्य सम्पन्न भएको हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा उल्लेख छ ।
पुल निर्माणको शीलान्यास स्वयं भगवान रामचन्द्रबाट रामेश्वरम भगवान शिवको विधिवत स्थापना गरेर दशहराको पुण्यतिथिमा पूजा अर्चना साथ पुल निर्माण भएको कुरा पनि रामायणमा चर्चा गरिएको छ ।
यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट शुरु भई दशमी सम्म १० दिनमा पूरा हुन्छ, त्यसैबेलादेखि दशहरा, पर्व मानिदै आएको बुझिन्छ । सकेसम्म प्रतिपदाबाट दशमीसम्म र त्यत्ति धेरै दिन नसकेपनि दशमीको गंगा स्नानलाई अति महत्व मानिएको छ । अध्यात्मिक रामायणको युद्धकाण्ड चतुर्थ सर्गमा भगवान रामले सेतु निर्माण गरेको विस्तृत वर्णन छ र रामेश्वर शिवको दर्शन तथा पूजाको १–८ श्लोकसम छर्लङ्ग पारिएको छ ।
वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमीका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् जसले सम्पूर्ण पाप नाश गर्दछिन् । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिन्छन् ।
स्कन्द पुराणका अनुसार जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वणिर्त गंगा दशहरा स्तोत्र दशपटक पढ्छ, उसका सबै कष्ट नाश हुन्छन् । दरिद्रता एवं असमर्थता भएकाहरूले समेत सम्पूर्ण सामग्री तयार पारेर विधिपूर्वक गरिने गंगापूजाकै फल प्राप्त गर्दछन् ।