जसपामा भेटिएन उपेन्द्रकाे विकल्प, काे कुन पदमा भिड्दै ?

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी नेतृत्वका लागि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ। जनकपुरमा जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ।
जसअनुसार हालसम्म यादवको एकल उम्मेदवारी परेको जसपाका एक नेताले न्यूजआजलाई जानकारी दिए। उनका अनुसार उम्मेदवारी दर्ताको केही समय बाँकी रहे पनि अन्य उम्मेदवारले अध्यक्षमा दाबी गर्ने संकेत नदेखिएको उनले बताए।
त्यसैगरी जसपा नेपालको सहअध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङ रहेका छन्।
त्यसैगरी महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। जसपाको विधान अनुसार एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तैगरी २ जना महासचिव र उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ।
त्यस्तै सचिव सात जना हुनेमा दुई जना महिला अनिवार्य हुने र कोषाध्यक्ष एक जना रहने व्यवस्था रहेको जसपा नेपालको विधानमा छ।
२० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्नेछ। आजै निर्वाचनका अन्य प्रक्रिया पूरा गरि अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानको समय तोकिएको छ।