भरत तालमा भ्रष्टाचारः निलम्बित नगर प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा
जनकपुर । भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो।
विशेष अदालत काठमाडौंमा मंगलबार दायर आरोपपत्रमा आयोगले बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको उल्लेख गरेको छ।
सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा परियोजना र संघीय सरकारको स्वीकृतीबिना अनधिकृत रुपमा माछापोखरी निर्माणका लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (आईईई) स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेर अनधिकृत काम गरेको आरोपपत्रमा छ।
आयोगका अनुसार बागमती नगरपालिकाबाट उक्त माछापोखरीको डीपीआर तयार गरेको देखाई बहुउद्देशीय माछापोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई, माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृतबिना ३९ लाख ७३ हजार १ सय ९१ घनमिटर उत्खनन गरेको पाइएको छ। उत्खननबाट निस्किएको नदीजन्य पदार्थको हिसाबमा अनियमिता गरेको पाइएको पनि आयोथले जनाएको छ।
नेपाल सरकार, प्रदेश, स्थानीय तह–सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरेको भन्दै आरोपितविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजायको मागदाबी आयोगले गरेको छ।
आयोगले यसअघि स्रोत नखुलेको सम्पत्ति पाइएको भन्दै गत चैत अन्तिम साता मुद्दा दायर गरेपछि नगरप्रमुख थापा पदबाट निलम्बित छन्। उनीविरुद्ध मंगलबार दायर दोस्रो मुद्दा हो। अघिल्लो मुद्दामा ५ करोड ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको थियो।