उपेन्द्रका लागि कांग्रेस किन शत्रु, लाेसपा कसरी मित्र ?(पूर्णपाठ)

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वर्षको चुनावबाट उदाएको जनमत पार्टीको अस्तित्व अस्वीकार गरेका छन् । जनकपुरधाममा जारी महाधिवेशनमा अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा सीके राउत नेतृत्वको जनमत पार्टीबारे केही उल्लेख गरेका छैनन् ।

विभिन्न राजनीतिक दलप्रति जसपाले लिने नीति, रणनीति र सहकार्यको सम्भावनाबारे उल्लेख गरेका यादवले जनमतलाई अस्वीकार गरेका हुन् । संयोग पनि कस्तो भने चुनावदेखि नै जसपा र जनमतबीच अघोषित दुश्मनीपूर्ण सम्बन्ध रहेको छ ।

जनमतले जसपामाथि दबाब बढाउने र उसलाई कमजोर बनाएर मधेशको राजनीतिमा स्थापित हुने रणनीति लिएको छ । त्यसैअनुसार नै उपेन्द्र यादवसँग सीके राउत चुनावी प्रतिस्पर्धामा गएका थिए । मधेश प्रदेशमा जसपाभन्दा पाँच सिट कम ल्याएको जनमतले गत वर्ष नै मुख्यमन्त्री दाबी गरेको थियो । त्यही जसपालाई हटाएर अहिले मुख्यमन्त्री हात पार्न सफल भयो ।

पछिल्ला दिनमा मधेशमा पनि जसपाको विकल्प जनमत हुन सक्ने आकलन भइरहेको बेलामा जसपाको राजनीतिक प्रतिवेदन जनमतबारे मौन बसेको हो । जसपाको मौनतामा अस्तित्व स्वीकार गर्न नसक्ने उपेन्द्रको संकीर्णतासँग पनि जोडिन्छ । जबकि जनमतजस्तै पश्चिम नेपालमा उदाएको नागरिक उन्मुक्ति पार्टीको बारेमा थोरै लेखेका छन् ।

राष्ट्रिय पार्टी हुन नसकेको एकीकृत समाजवादीको बारेमा पनि शब्द खर्चिएका छन् । तर, जनमतको बारेमा केही पनि लेखेका छैनन् । त्यतिमात्र होइन, संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारेमा पनि खास लेखेका छैनन् । अध्यक्ष यादवले रास्वपाको उदय सुशासनसँग जोडिएर आएकोले ठीकै भए पनि वैचारिक धरातल र राजनीतिक एजेण्डा प्रस्ट नभएकाे तर नयाँ गरौँ भन्ने हुटहुटीले मात्रै जन्मिएकाले केही समय पर्खिनुपर्ने उल्लेख गरेका छन् । 

Facebook Comments Box
न्यूज आज