मधेश प्रदेश : प्रस्तुत नहुँदै विवादमा नीति कार्यक्रम
जनकपुर । जनमत नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन नपाउँदै प्रक्रियामा विवाद उत्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद जितेन्द्र सोनलले प्रदेशसभाले नै नचिनेको सरकारले नीति तथा कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् ।
पुर्व मन्त्री समेत रहेका सोनलले लोसपा संसदीय दलको बैठकमा यसै विषयलाई लिएर अड्चन ल्याएका हुन् । राजनीतिक परम्परा र लोकतान्त्रिक संस्कारको संरक्षण गर्नुपर्ने बताउँदै सोनलले दलको बैठकपछि न्यूजआजसँग भने, ‘सरकारले विश्वासको मत नलिँदै नीति तथा कार्यक्रम ल्याउन मिल्दैन ।’ समय अभावको बहानामा लोकतान्त्रिक संस्कारलाई धुमिल पार्ने प्रयास भइरहेको टिप्पनी उनको थियो । उनले यसवारे सञ्चार माध्यमहरुले पनि प्राथमिकतासाथ आवाज उठाउनुपर्ने धारणा राखे ।
लोसपा दलका उपनेता उपेन्द्र महतोले भने समय अभावको बाध्यतालाई हेरेर तत्काल नीति कार्यक्रम ल्याउन अवरोध गर्न नहुने बताउँछन् । ‘विश्वासको मत लिइसकेपछि मात्रै नीति तथा कार्यक्रम ल्याउँदा सही हुने भएपनि अहिलेको समयाभावलाई पनि दृष्टिगत गर्न आवश्यक छ’ दलको बैठकपछि न्यूजआजसँग संक्षिप्त कुराकानी गर्दै महतोले भने, ‘बरु, बजेट पारित गर्नु अगावै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने दबाव दिन सकिन्छ ।’ बजेट ल्याउन दुई दिन बाँकी रहँदा नीति कार्यक्रमलाई रोक्नेगरी मतको बखेडा गर्न उचित नहुने उनको भनाई हो ।
जनमत नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमवारे एउटै दलमा दुई थरी धारणा आएको छ । तर, यो दलभित्रको विवादले नीति तथा कार्यक्रममा कुनै असर नपर्ने लोसपाकी सांसद रुपा यादवको भनाई छ ।