सुशासन प्रबर्द्धन गर्न युवालाई प्रोत्साहन

जनकपुरधाम । रौतहट गरुडा नगरपालिकाकी संगिता कुमारी राम दलित समुदायकी एक प्रतिनिधि हुन् । उनलाई युवा, सुशासन र सार्वजनिक नीति निर्माणमा अत्याधिक रुची छ ।

ब्याचलर इन सोसल वर्क तेस्रो वर्ष अध्ययनरत उनी इच्छा भएर पनि आफ्नो क्षमता देखाउने उत्तम माध्यम पाइरहेकी थिइनन् । तर, अहिले उनी अमेरकी दुतावासको सहयोग र पोखरा रिसर्च सेन्टरको आयोजनामा भइरहेको ‘युथ इन पोलसी एण्ड गभर्नेन्स फेलोसिप’ कार्यक्रम मार्फत सिकाइ र बुझाइलाई बृहत बनाएको बताउँछिन् ।

‘मधेश प्रदेशमा भइरहेको यो प्रोग्रामले नीति निर्माण र संघीयता बारेमा गहिरो एवं प्रष्ट रुपमा बुझ्न पाएको छु,’ उनी भन्छिन्, ‘अब म संघीयताको प्रतिरक्षासंगै सरकारलाई जवाफदेही बनाउन जिम्मेवार भएको महसुस गरिरहेको छु ।’ उनले कार्यक्रमबाट सिकेर मधेश प्रदेश सरकारले बनाउने नीतिहरुमा पनि निगरानी, खबरदारी र सुझाव दिने बताइन् ।

उनी जस्तै इच्छा बोकेकी छिन्, धनुषा मिथिला नगरपालिकाकी दिपिका लामा । उनी शारिरिक रुपले अपाङ्ग छिन् । तर, सरकारमाथि उनको निगरानी गर्ने दृष्टिकोण उत्कृष्ट छ । उनले पनि यस कार्यक्रममार्फत आफ्नो आवाजलाई समुदायस्तरमा सशक्त बनाउने बताउँछिन् ।

व्यवसायिक प्रशासन (बीबीए) पाचौं सेमेस्टर अध्यनरत उनी व्यवस्था र सुशासन कायम गर्न युवा सचेत हुनु पर्ने विश्लेषण गर्छिन् । ‘यो व्यवस्थालाई सबलिकरण गर्न युवा सचेत हुनुपर्छ । जुन कुरा यस कार्यक्रमले सिकाएको छ,’ उनले भनिन्, ‘यसले युवालाई सचेत मात्रै बनाएको छैन । वास्तविकता र भ्रम बारे पनि अवगत गराएको छ ।’

पोखरा रिसर्च सेन्टरका निर्देशक सुजन रेग्मीले कार्यक्रममा सहभागी युवाहरुले विषयगत अध्ययन अनुसन्धान गरेर सरकारको नीति निर्माणमा सघाउने जानकारी दिए । उनका अनुसार मधेश प्रदेशमा करिब पाँच सय आवेदनबाट पहिलो चरणमा ४८ जना युवाहरुलाई प्रशिक्षण दिइएको थियो । क्षमता र सिक्ने जागर अनुसार सहभागीहरुमध्ये दोस्रो चरणमा २६ जना छनौट भएका थिए । २६ जनाबाट १२ जनाले ६ महिनाको लागि फेलोसिप पाउने छन् । १२ मध्ये आधा महिला सहभागिता रहने छन् । प्रदेशसभा र सांसदहरुसंग नीति निर्माणमा काम गर्ने छन् । प्रदेश सभालाई बलियो बनाउन र सहयोग गर्ने उद्देश्यले मधेश प्रदेशमा पनि यो कार्यक्रम आयोजना गरिएको पोखरा रिसर्च सेन्टरकै प्रवक्ता सुजाता ढकालले बताइन् । उनका अनुसार यसअघि गण्डकी, लुम्बनी र कोशीमा पनि यो फेलोसिप कार्यक्रम सञ्चालनमा छ । फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दामा काम गर्ने उनले बताइन् ।

‘सार्वजनिक सेवाको सम्प्रेषण, सुशासन, वातावरणका मुद्दा, अर्थतन्त्र र विदेश नीतिहरुमा विशेष केन्द्रीत भएर काम गर्ने छन्,’ उनले भनिन्, ‘यसले फेलोहरुको व्यक्तित्व विकाससंगै तथ्यमा आधारित नीति निर्माण भएर सरकारलाई टेवा पुग्ने विश्वास गरिएको छ ।’ यस फेलोसिप अन्तर्गत २० देखि ३० वर्ष उमेर समूहका कम्तीमा स्नातक तहमा अध्ययनरत युवाहरुलाई सहभागी गराइएको छ ।

फेलोहरुले विषेश गरेर प्रदेशसभाका सहस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको मौस्यौदा बनाउने, सदनमा छलफलका लागि कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने छन् ।

Facebook Comments Box
न्यूज आज