कांग्रेस–कम्युनिष्टको कडा अलोचना, जनमतको नामै लिइएन

जनकपुरधाम । सोमबारदेखि सुरु भएको जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष उपेन्द्र यादवले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेपाली कांगे्रस र एमालेलाई कडा आलोचना गरेका छन् ।

‘नेपालमा पहिचान सहितको स्वायत्त प्रदेश निर्माणमा नेपाली कांग्रेस बाधक बन्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विपक्षमा रहेको कांग्रेसले यतिबेला सशक्त रुपमा प्रतिपक्षी दलको भूमिका पनि निर्वाह गर्न सकिरहेको छैन’ यादवको प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेस आफैभित्रको कमीकमजोरीको कारण अकर्मण्यताको भारले थिचिएको छ ।’

नेकपा एमाले विरुद्ध अझ कडा शब्दको प्रयोग गरेका यादवले एमाले लगायत कम्युनिष्ट पार्टीहरुको भविष्य नेपालमा नदेखिएको जिकिर गरेका छन् । ‘पार्टीको स्थापनाकालिन मान्यता, सिद्धान्त र उदेश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपाली कम्युनिष्ट आन्दोलन कुहिरोको कागजजस्तै भएको छ’ यादवले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्छन् भने अर्कोतिर कम्युनिष्ट कम्युनिष्टको नाउँमा सामिप्यता र आडभरोसा खोज्न पनि छाडेका छैनन्’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गर्दैछ ।’ उनले वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्रै लामो समय बलिया भइरहन सक्ने सम्भावना नदेखिएको टिप्पनी गरेका छन् ।

कम्युनिष्ट पार्टीका ठुल्ठूला नेताहरु भ्रष्टाचार, कमिशनतन्त्र र नैतिक पतनको घटनाहरुमा उदांगिदै गएको उल्लेख गर्दै यादवले राजनीतिक प्रतिवेदनमार्फत भनेका छन्, ‘शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण अनि सम्पत्ति शुद्धिकरण आयोगलाई निष्क्रिय बनाउने काम पनि कम्युनिष्ट पार्टीकै अगुवाईमा भयो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको सवालमा यादवले कांग्रेस–एमालेले धम्ल्याएको पानीमा माछा मार्न खोजेको विश्लेषण गरेका छन् । ‘राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको छ’ उनले भनेका छन्, ‘महेन्द्रीय राष्ट्रवादको पैरवी गर्न राप्रपा धारले बेला बेलामा कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने पर्यत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला गर्दछ ।’

महन्थ ठाकुर नेतृत्वको राजनीतिक दल लोसपालाई मित्र शक्ति भनेर पुल्पुल्याएका यादवले रवि लामिछाने नेतृत्वको रास्वपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई सुसंस्कृत राजनीति सोच नभएको पार्टीको रुपमा चित्रण गरेका छन् । केही परिवर्तन गर्ने हुटहुटीले पार्टी निर्माण गरिएको जस्तो देखिएपनि प्रष्ट भिजन नभएर अन्यौलग्रस्त अवस्थामा रहेको उनको टिप्पनी छ ।

भर्खरै मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा रहेको सत्ता खोस्ने दल जनमतको वारेमा भने प्रतिवेदनमा केही उल्लेख गरेका छैनन् । माओवादीको नाम उच्चारण नगरेपनि एमालेसँगै जोडेर टिप्पनी गरेका छन् । माधव नेपाल नेतृत्वको पार्टीले एमालेको उपग्रहको रुपमा रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

Facebook Comments Box
न्यूज आज