गण्डकीमा जोगियो कांग्रेस सरकार

जनकपुरधाम । संघसहित सात मध्ये छ प्रदेशमा सत्ता गठबन्धनले सरकार सञ्चालन गरिरहँदा गण्डकी प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको सरकारले स्थायित्व पाउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको पाएसँगै कांग्रेस नेतृत्वको सरकार कायम रहने भएको हो ।
पाण्डे नेतृत्वको वर्तमान सरकार पछिल्लो १७ महिनायता फेरबदल भइरहेको चौथो सरकार हो । सोमबार पाण्डेले विश्वासको मत पाउन नसके प्रदेशमा मध्यावधि निर्वाचन गराउनुपर्ने अवस्था आउन सक्ने सम्भावना थियो ।२०७९ मंसिरमा संसदीय निर्वाचन सम्पन्न भए लगत्तै पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए । अधिकारी नेतृत्वको सरकार चार महिना नपुग्दै संघमा सत्ता समिकरण फेरियो र त्यसको असर गण्डकीमा पनि पर्न गयो ।
२०८० वैशाख १४ गते नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री भए । उनको कार्यकाल २०८० चैत २५ सम्म रहयो । फेरि संघमा सत्ता फेरिन पुग्यो । संघको प्रभावले प्रदेशमा पनि सरकार फेरियो र फेरि खगराज अधिकार नै मुख्यमन्त्री भए । तर, उनले विश्वासको मत पाउन सकेनन् । सत्ताको आडमा ३१ पुग्नुपर्ने ठाउँमा ३० लाई वैधानिक दावी गरिरहेको अधिकारी सरकारलाई अदालतले भने खारेज गरिदियो । र, यतिबेला चौथो सरकारको नेतृत्व पुनः पाण्डेले गरिरहेका छन् ।
६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सोमबार पाण्डेको पक्षमा ३१ मत परेको हो । यो सँगै बाँकी कार्यकालका लागि पाण्डे नेतृत्वको सरकार कायम रहने सम्भावना देखिएको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, बाबुराम भट्टराई नेतृत्वको १ र स्वतन्त्र राजिव गुरुङ उर्फ दिपक मनाङेले विश्वासको मत दिएका हुन् ।