ढल्केवर–इनरुवा प्रसारण लाइन निर्माण कार्य सम्पन्न
जनकपुरधाम । धनुषाको ढल्केवरदेखि सुनसरीको इनरुवासम्म ४०० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढिकरण बनाउन र नेपाल–भारतबीच विद्युत विस्तारका लागि निर्माणाधिन हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केवर–खण्ड निर्माण सम्पन्न भएको हो ।
यो प्रसारण लाइनले ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने क्षमता रहेको छ । धनुषास्थित ढल्केवरदेखि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –४ स्थित इनरुवा सवस्टेशनसम्म १५४ किलोमिटर लामो उक्त प्रसारण लाइनको काम सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
मकवानको हेटौंडा उपमहानगरपालिका –११, थानाभ¥याङस्थित हेटौंडा सवस्टेशनदेखि सुनसरीको इनरुवा सवस्टेशनसम्म २ सय ८८ किलोमिटर लामो प्रसारण लाइनलाई दुई खण्डमा विभाजनगरी निर्माण कार्य सुरु गरिएको थियो । ती मध्ये ढल्केवर–इनरुवा खण्डको १५४ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । बाँकी रहेको हेटौंडादेखि ढल्केवर १३४ किलोमिटर प्रसारण लाइन निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केवर–इनरुवा खण्डको निर्माण कार्य सम्पन्न हुनु मुलुकको समग्र प्रसारण प्रणालीलाई गुणस्तर र विश्वसनीय बनाउन र नेपाल – भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धी भएको बताएका छन् ।
अहिलेको १३२ केभी प्रसारण लाइनको क्षमताले विद्युत भारत नधान्दा हिउँदयाममा ढल्केवारबाट इनरुवातर्फ विद्युत पठाउन निकै समस्या उत्पन्न भइरहेको थियो । भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो । अब ४०० केभी प्रसारण लाइनबाट पर्याप्त विद्युत पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रुपमा मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्युत आपुर्ति सुधार हुने घिसिङको भनाई छ ।