मुख्यमन्त्रीलाई सुध्रिन होस्टलमा राखिएको होः अन्सारी

जनकपुरधाम । प्रदेशसभा सदस्य एवम् पुर्व राज्यमन्त्री रहवर अन्सारीले जनमत नेतृत्वको सरकारलाई विगतको सरकारले गरेको कमजोरी नदोहोरिनेगरी सञ्चालन गर्न सुझाएका छन् ।

‘अहिलेको सरकारले मधेशमा बुलेट ट्रेन चलाउन जरुरी छैन’ नयाँ सरकार गठन भएयता आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा बोल्दै पुर्व राज्यमन्त्री अन्सारीले भने, ‘मुख्यमन्त्री ज्यू हिरोहोण्डा नै चलाइदिन आग्रह गर्छु तर कछुवाको गतिमा नगइदिनुहोला ।’

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोस पोख्दै उथलपुथल गर्ने प्रधानमन्त्रीको कारण राजनीतिक अस्थिरताले मलजल पाएको आरोप लगाएका थिए । आइतबारको बैठकमा सोही विषयको जवाफ दिँदै अन्सारीले प्रधानमन्त्रीले बोलेको उथलपुथल सम्बन्धी वक्तव्यको बचाउ गरे ।

ADVERTISEMENT

‘आज जे जति परिवर्तन भएको छ त्यो पुष्पकमल दाहालले गरेको उथलपुथलकै प्रतिफल हो’ अन्सारीले संसदमा भने, ‘म प्रदेशसभा सदस्य भएको छु त्यहीँ उथलपुथलले यो सम्भव भएको हो । आज मधेश प्रदेश सरकारमा दलित समुदायले मन्त्री पाएको छ त्यहीँ उथलपुथलले हो ।’ उनले यस्ता अझै धेरै उथलपुथल भइरहोस् भनेर आफ्नो चाहना रहेको बताए ।

अर्को प्रसंगमा अन्सारीले निवर्तमान मुख्यमन्त्री यादव र उनी प्रतिनिधित्व गर्ने राजनीतिक दल जसपा नेपाललाई प्रधानमन्त्री दाहालले होस्टलमा राखिदिएको टिप्पनी गरे । उनले भने, ‘मेरी छोरीले घरमा धेरै दुख दियो भने अनुशासनमा बस नभए होस्टलमा पठाइदिन्छु भनेर सचेत गराउँछु । आज तपाई (निवर्तमान मुख्यमन्त्री यादव) र तपाईको पार्टीलाई प्रधानमन्त्रीज्यूले त्यस्तै होस्टलमा पठाइदिनुभएको हो । त्यहाँ सुध्रिनुहोस् भनेर हो । तर, होस्टलमा बिग्रिने सम्भावना पनि हुन्छ ।’

Facebook Comments Box
न्यूज आज