प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जसपा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको अवधारणा सार्वजनिक गरेको छ ।
भोली (सोमबार) देखि जनकपुरधाममा आयोजना हुन लागेको एकताको प्रथम राष्ट्रिय महाधिवेशनका लागि वितरण गरिएको आमन्त्रण पत्रमा प्रकाशन गरेको प्रतिबद्धताको सूचिमा जसपाले यस्तो अवधारणा राखेको हो । एक राजनीतिक दलको प्रतिबद्धतामा यस्तो अवधारणाले प्राथमिकता पाउनु सुखद् पक्ष हो ।
झण्डै एक दशक पुर्व जारी भएको संविधान अनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेसम्म संस्थागत हुनै सकेको छैन । कानुनले केही हदसम्म यो व्यवस्थालाई अपनत्व ग्रहण गरेपनि शासन व्यवस्था कार्यान्वयन गर्ने पक्षको व्यवहारमा नआउँदा जनतामा एक प्रकारको नैराश्यता छ ।
अझ, पछिल्लो समय अस्थिर सरकारको रबैया र संघीय गठबन्धनमा समान्य उतारचढाव आउँदा सातै प्रदेशमा भइरहेको सरकार परिवर्तनको असभ्य खेलले जनता आजित भइसके । एउटा सरकारले बजेट ल्याउने, अर्कोले कार्यान्वयन गर्ने फेरी अर्को बजेट अर्कै सरकारले ल्याउनुपर्ने जस्ता अति अस्थिर सरकारको कारण न विकासको काम प्रभावकारी हुन सकिरहेको छ न त शान्ति सुरक्षा ।
यो राजनीतिक व्यथीतिलाई नियन्त्रण गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणा एकदमै प्रभावकारी हुन सक्छ । यसका लागि राजनीतिक दलहरु तयार भइदिए सहजै सम्भव हुन्थ्यो । दलहरुले नचाहे अहिलेकै अवस्थामा यसकै लागि नागरिक आन्दोलन पनि निर्णायक भइहाल्ने सम्भावना देखिदैन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले जसरी एकताको राष्ट्रिय महाधिवेशनको अवसरमा देश र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणा ल्याएको छ । यो व्यवस्थालाई कार्यान्वयन गराउन अग्रसर भयो भने एक पटक फेरि निर्णायक आन्दोलनको अगुवाइ गर्ने अवसर जसपाले पाउने सम्भावना देखिन्छ ।
जसपाले आफ्नो प्रतिबद्धताहरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पुनर्संरचना, पहिचान सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरुको स्थापना, राज्यको हरेक स्रोत साधनमा जनसंख्याको आधारमा हरेक समुदाय, वर्ग र क्षेत्रको समान पहुँच र समावेशी विकासको प्रत्याभूति, सुशासन, समृद्धि र सामाजिक रुपान्तरणका लागि प्रभावकारी कदम चाल्ने एवम् कृषि क्षेत्रमा आमुल परिवर्तनका लागि अगुवाई गर्ने विषय उल्लेख गरेको छ ।
जसपा नेपालले करिब साढे छ वर्षसम्म मधेश प्रदेश सरकारको नेतृत्व गरिरहँदा पार्टीको प्रतिबद्धता अनुरुप कति काम गर्न सके, कहाँ चुके भन्ने विषयमा गम्भिर समिक्षा हुन आवश्यक छ । यसका लागि पार्टीको केन्द्रीय नेतृत्वले नै अग्रसरता लिन आवश्यक छ । जनतालाई आफुतिर लोभ्याउनकै लागि प्रतिबद्धता सार्वजनिक गर्ने तर व्यवहारमा अन्य पार्टीजस्तै अवसरमात्र उपभोग गर्न सिमित रहने हो भने कुनै अर्थ छैन ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: