सबै राजदुतलाई फिर्ता बोलाउनु गलत हर्कत भएको आरोप

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैचोटी सबै राजदुतलाई फिर्ता बोलाएर देशको कुटनीतिक मर्यादा विपरित गलत हर्कत गरेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने, ‘भोली प्रधानमन्त्री भारत जाँदैछन् र त्यसको ठीक एकदिन अगाडी त्यहाँस्थित नेपाली राजदुतलाई फिर्ता बोलाउने काम गरियो । यो अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा लज्जास्पद काम हो, यो सरकारको लाजको कुरा हो ।’ उनले सरकारको यो हर्कतको कडा शब्दमा विरोध गरे ।

बर्खाको यो समयमा किसानलाई चाहिने मल, खाद्य र सिँचाईको व्यवस्था गर्न सरकार चुकेको टिप्पनी गर्दै यादवले उखु किसान र दुध उत्पादक किसानलाई तत्काल भुक्तानी गरी उनीहरुको भविष्य सुरक्षित गर्न माग गरे । भर्खरै ल्याइएको बजेट आग्रह–पुर्वाग्रहयुक्त भएको बताउँदै उनले भने, ‘मानव विकास सुचकांकमा पछि परेको र सर्वाधिक जनसंख्या भएको मधेश प्रदेशमै सबैभन्दा कम बजेट दिनुले शासक वर्ग मधेशप्रति कति पुर्वाग्रही छ भन्ने प्रष्ट हुन्छ ।’

जसपा नेपाल फुटेको होइन
पार्टी फुटेर जसपा निकै कमजोर अवस्थामा पुगेको बेला महाधिवेशनको औचित्यवारे यादवले भने, ‘जसपा नेपाल एक समान्य राजनीतिक दल होइन । वर्गीय र जातीय विभेदको विरुद्ध तराई, मधेश, पहाड र हिमालका शोषित, उत्पीडित सबै जनताको एकताबद्ध विचारको थलो हो । यहाँबाट चोइटिएको टुक्राको यो देशको सरकार टिक्ने आधार बनेको छ । यसले पनि यो पार्टीको आवश्यक्ता र शक्तिको अनुमान लगाउन सकिन्छ ।’

९९ प्रतिशत क्रियाशिल सदस्य र दुई तिहाई कार्यकारिणी समिति सदस्य आफुहरुसँगै रहेको उल्लेख गर्दै उनले केही अवसरवादी र राजनीतिको आडमा धेरै धन आर्जनको लालसा बोक्ने व्यक्तिहरुलाई सरकारले नाजायज प्रलोभनमा पारेको आरोप लगाए । ‘जसपा नेपाल फुटेको होइन, केही चरम अवसरवादीहरुलाई क्षणिक प्रलोभनमा पारेको मात्रै हो । यो घटनाले एकताको महाधिवेशनसँगै जसपा नेपाल अझ सुदृढ भएर अघि बढ्छ ।’

सँधैभरि एउटै पार्टीको सरकार रहनु हुँदैन
भर्खरै उदाएको जनमत पार्टीले जसपा नेपालको सरकार ढालेर ठूलो चुनौति दिएको भन्ने सवालमा यादवले लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुक र प्रदेशमा सँधैभरि एउटै पार्टीले सरकारको नेतृत्व गर्नु ठीक नभएको प्रतिक्रिया दिए । ‘मधेश प्रदेशको विकासमा केही काम हामीले सुरु गरेका छौं । बाँकी काम पुरा गर्न सकेजति अर्को पार्टीले गर्नेछ । सबै मिलेर प्रदेश र देश बनाउने हो । जसपाको सरकार नै सँधैभरि रहीरहनुपर्छ भन्ने नभएपनि जनताले चाहे फेरि आउन सक्छ’ उनले भने ।

महाधिवेशनमा आधादर्जन मुलुकको प्रतिनिधित्व हुने
जेठ २८ गतेदेखि ३० गतेसम्म आयोजना हुन लागेको जनता समाजवादी पार्टी नेपालको महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उपेन्द्र यादवले एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न हुन लागेको बताए ।

जसपा नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्न भारतीय कांग्रेस, भारतस्थित राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजान, स्पेन, चीन, इन्डोनेसिया लगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरुले शुभकामना दिन आउन लागेको पार्टी अध्यक्ष यादवले जानकारी दिए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: