बालश्रम ? ‘नो एग्रिमेन्ट !’
भारतमा बालश्रम उन्मुलन गर्ने अभियान चल्न थालेको २५ वर्ष भयो । कानुनले बालश्रमलाई निषेध गरेपनि फितलो कार्यान्वयन र सरोकारवालाको व्यवहारमा परिवर्तन नहुँदा अपेक्षित रुपले सुधार नभएपनि धेरै हदसम्म असर परेको देख्न सकिन्छ । आजका दिन भारतका करिब सबै प्रान्तमा बालश्रम विरुद्ध अभियानले गति लिइरहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्नु स्वभाविक हो । खासगरी सीमा क्षेत्रमा पर्ने नेपाल र भारत दुवै देशको समाजमा संस्कृति, भाषा र रितिरिवाज मिल्दोजुल्दो भएको आधारमा पनि एक देशमा हुने परिवर्तनको प्रभाव अर्को देशमा सहजै प्रवाह हुन पुग्छ । यसै सेरोफेरोमा रहेर भारतको हैदरावादस्थित गैरसरकारी संस्था एमभी फाउन्डेशनका संयोजक बेन्कट रेड्डीसँग न्यूज आजका सम्पादक सुरेश यादवले गरेको कुराकानीः
रेड्डीजी नेपालमा पहिलो पटक आउनु भएको हो ?
होइन । म नेपालमा पछिल्लो २५ वर्षदेखि नियमित रुपमा आउनेजाने गरिरहेको छु ।
नेपालमा आएर के गर्नुहुन्छ ?
खासमा मेरो सम्बन्ध आसमान नेपालसँग हो । आसमान नेपाल स्थापना भएको बेलादेखि म निरन्तर रुपमा यहाँ आउने जाने गरेको छु । मैले करिब ३० वर्ष अगाडि भारतमा बालश्रम हुनुहुँदैन भनेर अभियान चलाउने सोच बनाएर अघि बढिरहेको थिएँ । त्यसको करिब पाँच वर्षपछि मेरो सोचलाई सहयोग गर्ने जस्तो महसुस भएर भर्खर स्थापना भइरहेको आसमान नेपालसँग सम्बन्ध जोडिन पुगेको हो । अहिले आसमान नेपालले भारतमा र एमभी फाउन्डेशनले नेपालमा बालश्रम चलिरहेको अभियानलाई सहयोग गर्दै आइरहेको अवस्था छ । म नेपाल आएर यहाँको समुदायमा पुग्छु । आम जनसमुदाय जसलाई गरिब र दलित भनिन्छ । उहाँहरुसँग साक्षात्कार गर्दा मैले धेरै नयाँ नयाँ कुराहरु सिकिरहेको हुन्छु ।
के सिक्नुभयो त नेपालबाट ?
म आसमान नेपाललाई धन्यवाद दिन चाहन्छु । जसले धनुषा, महोत्तरी जस्ता जिल्लामा गरिब र दलित समुदायका मानिसहरुलाई चेतनाको स्तर निकै उकास्ने काम गरेको छ । अस्ति म महोत्तरीको एउटा गाउँमा गएको थिएँ । त्यहाँ मैले लामो भाषण गरिरहँदा मलाई बीचमै रोकेर एकजना निरक्षर महिलाले भन्नुभयो, ‘तपाईले के भाषण गरिरहनुभएको छ ? यहीँ न !, बच्चाहरुलाई काम छोडाउ र स्कुल पठाउ ।’ ती महिलालाई म सैलुट गर्छु । त्यो कुरा सुनेर मलाई लाग्यो मैले यहाँ आएर सिकाउने होइन, सिक्ने हो ।
आसमान नेपाल र एमभी फाउन्डेशनको सम्बन्ध कसरी जोडिन पुग्यो ?
आन्ध्र प्रदेश, तेलंगनामा सुरु भयो । त्यहाँबाट जो सिकाई प्राप्त भयो । हामीलाई भेटेको लर्निङलाई अन्य सामाजिक संस्थाहरुसँग सेयर गरेर संयुक्त रुपमा अघि बढ्ने हाम्रो उदेश्य भयो । त्यसबेला आसमान नेपालको एक टोली भारत आएको थियो । उनीहरुले बाल अधिकार र गुणस्तरीय शिक्षाको लागि कुन मोडेल राम्रो हुनसक्छ ? कसरी काम गर्दा समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सकिन्छ भनेर आसमान नेपाल अध्ययनकै सिलसिलामा हाम्रोतिर आएको थियो । उदेश्य मिल्ने भएपछि हामी एक अर्कालाई सहयोग गर्नेगरी सम्बन्ध स्थापित ग¥यौं र आज पनि यो सम्बन्ध निरन्तर अगाडि बढिरहेको छ ।
सुरु गरिरहँदाताकाको बालश्रम विरुद्धको अभियानको अनुभव सुनाउनुस् न !
त्यसबेला भारतमा र नेपालमा पनि एकै प्रकारको समस्या देखिन्थ्यो । मानिसले बालश्रम गराउन हुँदैन भन्ने विषयमा सकारात्मक नै थिएनन् । उनीहरुले बालश्रम गलत हो भन्ने विषय स्वीकार्नै चाहँदैनथे । गरिबी हटेपछि यसतर्फ ध्यान दिने भनेर पन्छिन खोज्थे । बुद्धिजिबी, राजनीतिकर्मीहरुले पनि बालश्रमलाई उन्मुलन गर्न सकिदैन भनिरहेका थिए । तर, हामीले साबित ग¥यौं कि गरिबीको कारण बालश्रम भइरहेको छैन । बालश्रम भइरहेको छ त्यसैले गरिबी छ । र, यो प्रमाणित गर्नमै हामीलाई दस वर्ष लाग्यो । आसमान नेपालसँग पनि यसवारे जानकारी गरायौँ ।
यति गरिसकेपछि बालश्रम हटाउने सुत्र के पाउनुभयो ?
सही प्रश्न गर्नुभयो । कुनै सम्झौता गर्दिन । जहाँ बालश्रम भइरहेको छ त्यहाँ कुनै सम्झौता हुँदैन । बालश्रम छ भने ‘छ’ स्वीकार गर्नुपर्छ र बालश्रममुक्त गर्नैपर्छ भन्ने हो । यस कारण र त्यस कारण भनेर सम्झौता गर्नै हुँदैन । त्यसैले बालश्रम हटाउने हो भने एउटै सुत्र छ, ‘नो एग्रिमेन्ट !’
नेपाल र भारतमा के फरक पाउनुभयो ?
उस्तै हो । सबै कुरा मिल्छ । गरिबी उस्तै छ । खानपान र पहिरन मिल्छ । सोच मिल्छ दुवैतिरको समुदायको । कुनै फरक लागेन मलाई । बरु, शिक्षाको सवालमा चेतनास्तर धनुषा, महोत्तरीकै नागरिकमा धेरै छन् । आसमान नेपालले कसरी काम गर्ने ? कहाँबाट सुरु गर्ने भनेर सोचिरहेको थियो । मलाई अहिले पनि याद छ । म महोत्तरी आएको थिएँ । त्यहाँ एउटा टोलमा एक जना पुरुषले आफ्नी अपाङ्ग छोरीलाई काँधमा बोकेर स्कुलतर्फ जाँदै थिए । मलाई लाग्यो हेर्दा आर्थिक रुपले गरिब ती पुरुषले हिँड्न नसक्ने छोरीलाई दैनिक काँधमा बोकेर स्कुल लग्ने र ल्याउने काम गर्छ भने यहाँको समुदाय बच्चाको शिक्षाप्रति सचेत छन् । र, सोही तस्बिरले मलाई विश्वास दिलायो कि सम्भव छ परिवर्तन ।
नेपालमा केही परिवर्तन भएको लाग्यो तपाईलाई ?
परिवर्तन भएको छ । धनुषाको एउटा गाउँमा समान्य परिवारमा जन्मेको बच्चाको नाम नै आसमान नेपाल राखिएको थाहा पाएँ । आसमान नेपाल ठाकुर । यो नाम भनेको अभियानको नाम हो र आसमान नेपालका प्रतिनिधिहरुलाई ती बच्चा आठ वर्षको उमेरमा पुगेपछि मात्रै जानकारी भयो । अनुसन्धान गर्दै जाँदा ती बच्चाको हजुरआमाले आसमान नेपालको अभियानसँग निकै प्रभावित भएर आफ्ना नातिको नाम आसमान नेपाल राखेको रहेछ । यसले परिवर्तनको असर देखाउँछ ।
२५ वर्ष अगाडि र अहिले नेपालको शासन व्यवस्थामै निकै परिवर्तन आइसक्यो । यसले यो अभियानलाई सपोर्ट पुग्छ कि अवरोध ?
राम्रो भइरहेको छ । केन्द्रिकृत शासन व्यवस्थामा केन्द्रको आँखाबाट हेरिन्छ । त्यहाँ नेपालमा यति संख्यामा बालश्रमिक वा विद्यालय बाहिर भनेर तथ्यांकमा कुरा गरिन्छ । अहिले पालिकाहरु जिम्मेवार भएका छन् । पालिका र अझ वडास्तरमा जाने हो भने यति संख्या भनेर होइन । फलानाकी छोरी, फलानाका छोरा स्कुलभन्दा बाहिर छन् भनेर कुरा हुनसक्छ । यसले व्यक्तिको अनुहारमै पुगेपछि काम गर्न सहज हुन्छ ।
अब आसमान नेपाललाई के सुझाव दिनुहुन्छ ?
आसमान नेपालले यतिको वर्षदेखि समुदायमा आधारित रहेर काम गर्दा जे अनुभव प्राप्त भएको छ त्यसलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग सेयर गर्न सक्नुपर्छ । अब यो अभियान आसमान नेपालको मात्रै नभएर सरकारको अभियान हुनुपर्छ । सरकारले आफ्नो जनताको सुखद् भविष्यको परिकल्पना गर्दछ । सबै बच्चा पढ्न सके राज्यको भविष्य सुखद् हुने भएकाले यसतर्फ राज्यको ध्यान पुग्नुपर्छ । यसका लागि आसमान नेपालले राज्यलाई सहजीकरण गरिदिनुपर्छ । राज्यले हरेक बालबालिकाको लागि अतिरिक्त बजेट विनियोजन गर्नुपर्छ र आसमान नेपालले अभिमुखिकरण गर्नुपर्छ । एउटा पालिकाले अर्को पालिकालाई आफ्नो सफलता देखाउने र एउटा प्रदेशले अर्कोलाई देखाउन सक्ने अवस्थामा पुग्यो भने देशमै परिवर्तन हुन्छ । यो सम्भव छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
सबै बालबालिका पढ्न पाउनुपर्छ । उनीहरुलाई पढ्नबाट बन्चित गर्ने कुनै पनि बहाना र सम्झौता गर्दै नगरौं, कदापी नगरौं । बालबालिका रहने ठाउँ भनेको स्कुल हो । हरेक बच्चा पुर्ण समय औपचारिक स्कुलमा रहनैपर्छ । पुर्ण समय भनेपछि पुर्ण समय भनेका हौं । पढ्छ पनि र काम पनि गर्छ भन्न मिल्दैन । यतिमात्र कुरामा परिवार, समाज, राज्य र राजनीतिकर्मी प्रतिबद्ध भइदियो भने बालश्रम पनि समाप्त हुन्छ । बालहिंसा बन्द हुन्छ । र शतप्रतिशत नागरिक शिक्षित हुनपुग्छ । शिक्षित नागरिकले आफ्नो जीवन स्तरीय बनाउन स्वयम् सक्षम हुन्छन् । त्यसैले फेरि पनि भन्छु, बालश्रमलाई समाप्त गर्न सबैजना हातेमालो गरौँ ।
र अन्त्यमा, धनुषाको एउटा गाउँबाट सुरु भएको आसमान नेपालको काम आज मधेश प्रदेशको सबै पालिका र सातवटै प्रदेशमा उपस्थिति बनाउन सक्नु खुशीको कुरा हो । सबै बालबालिका पुर्ण समय औपचारिक विद्यालयमा हुनुपर्ने अभियानलाई सरकारले अपनत्व ग्रहण गरोस् भन्ने चाहना प्रकट गर्दछु । धन्यवाद ।