गाउँपालिकामै पराजित भएकालाई मुख्यमन्त्रीको कुर्सी
चर्चामै थिएनन्, एकाएक कसरी नियुक्त भए ?
जनकपुरधाम । स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंह शुक्रबारदेखि मधेश प्रदेश सरकारको मुख्यमन्त्री भएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा चुनाव हारेका थिए उनी ।
अघिल्लो चुनावमा सोही गाउँपालिका अध्यक्षमा राजपाबाट जितेका सिंहले अर्को चुनावमा लोसपाबाट लड्दा हार व्यहोर्नु परेको थियो । त्यसको केही दिनमै पार्टी परिवर्तनगरी जनमतमा प्रवेश गरे । पार्टी अध्यक्ष सिके राउतसँग उनकै मातहतको प्रदेशसभा क्षेत्रमा अवसर पाएपछि जिते पनि । प्रदेशसभाको विषयगत समिति अर्थ तथा योजनाका सभापति सिंह मुख्यमन्त्री बन्न लागेको चर्चा बिहीबार दिउँसोतिर मात्रै सुरु भयो । शुक्रबार बिहानै मुख्यमन्त्री चयन भएर पदभार पनि सम्हालिसके ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका अरुण मण्डलसँग करिब दुई हजार मतले पराजित भएका सिंह यतिबेला मुख्यमन्त्री पदमा वहाल भएपछि उनका आफ्नै गाउँबासी आश्चर्यचकित भइरहेका छन् । जनमतले मधेश सरकारको नेतृत्व गर्ने अवसर पाउन लागेको भनि एक हप्ता अगाडिदेखि चर्चा चलिरहेपनि सिंहको नाम भने गुमनाम थियो । कसैले कल्पना समेत नगरेको व्यक्ति एकाएक मुख्य पदमा पुगेपछि कार्यकर्ताले आश्चर्य प्रकट गर्नु स्वभाविक पनि हो ।
चर्चामै थिएनन्, एकाएक कसरी नियुक्त भए ?
लोसपा पृष्ठभूमि भएको मुख्यमन्त्री सतिश सिंहका पिता शेखर सिंह अहिले पनि लोसपाकै तर्फबाट राष्ट्रियसभा सदस्य छन् । जनमतलाई सरकारको नेतृत्व दिन एमाले, माओवादी र एकीकृत समाजवादी तयार भइसकेको अवस्थामा पनि बहुमत पु¥याउने चुनौति कायमै थियो । यस्तो बेला सतिशलाई मुख्यमन्त्री बनाउँदा लोसपाको साथ पाउन सक्ने सम्भावना देखेर यस्तो निर्णय गरेको केही कार्यकर्ताले अनुमान लगाइरहेका छन् ।
तर, जनमत पार्टीभित्र एकथरि चर्चा भने फरक छ । यस अघि जसपा नेपालबाट सरकारको नेतृत्वमा यादव समुदायको रहेकोले जनमतले फरक जातबाट ल्याउनुपर्ने दबाव अध्यक्ष सिके राउतमाथि परेको सोही पार्टीका एक प्रदेश नेताले बताए । उनका अनुसार प्रदेशसभामा पदभार सम्हालेको दिनदेखि संसदीय दलका नेताको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिलाई अचानक पाखा लगाएर विकल्प खोज्नु समान्य कुरा होइन ।
‘यसले पार्टीभित्र जातिवाद हावी रहेको प्रष्ट भएको छ’ ती नेताले न्यूजआजसँग भने, ‘वैज्ञानिकले नेतृत्व गरेको पार्टी परम्परागत पार्टीहरुभन्दा पनि तल स्तरको व्यवहार प्रदर्शन गरेको देखियो । यसले पार्टीको भविष्य राम्रो होला जस्तो मलाई लाग्दैन ।’