मधेश प्रदेश : कुन मन्त्रालय कसको भागमा !
जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा गठन हुन लागेको मधेश सरकारको मन्त्रिपरिषद्मा मुख्यमन्त्री समेत १३ मन्त्रालय कामय गरिदैछ । बहुमत पुर्याउनका लागि एकमात्र सांसद रहेका पार्टीहरुलाई समेत मन्त्री दिनुपर्ने बाध्यतामा रहेको सरकारले मन्त्रालय फुटाएर संख्या बढाउन लागेको हो ।
स्रोतको अनुसार मुख्यमन्त्री र वन तथा वातावरण मन्त्रालय जनमतको भागमा परेको छ । एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र समाज कल्याण मन्त्रालय परेको छ ।
एकीकृत समाजवादी पार्टीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी तथा सिँचाई मन्त्रालय र उर्जा मन्त्रालय पाउने भएको छ ।
रिजमान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीकी एकमात्र सांसद विमला अन्सारीले गृह तथा सञ्चार मन्त्रालय पाउँदैछिन् । नागरिक उन्मुक्ति पार्टीकी पनि एकमात्र सांसद उर्मिला देवी सिंहले श्रम तथा यातायात मन्त्रालय पाउने भएकी छिन् ।
स्रोतको अनुसार एमालेले यस अघि मन्त्री बनाएका सबै पुरानै अनुहारलाई प्राप्त मन्त्रालयको जिम्मेवारी सुम्पिदैछ । एकीकृत समाजवादी पार्टीमा पनि पुरानोलाई दोहोर्याउँदै थप एक मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने टुंगो लागिनसकेको प्रमुख सचेतक रत्नेश्वर लाल गोइतले जानकारी दिए ।