आसमानले प्रमाणित गर्‍यो, ‘परिवर्तन सम्भव छ’

मधेश र नेपालमात्रै होइन अफ्रिकामा पनि सम्मानित

जनकपुरधाम । बाल अधिकार र गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा नेपालमै परिचित गैरसरकारी संस्था हो आसमान नेपाल । २०५६ सालमा स्थापना भएको आसमान नेपालले तराई मधेशमात्रै नभएर केही पहाडी र हिमाली जिल्लाका पालिकाहरुलाई पनि कार्यक्षेत्र बनाएर सरकारलाई सपोर्ट हुनेगरी नागरिक सशक्तिकरणको क्षेत्रमा काम गरिरहेको छ ।

यो संस्थाले बिहीबार जनकपुरधामस्थित महेन्द्रनारायण संस्कृति केन्द्रको सभाहलमा देशी, विदेशी सरोकारवालाको उपस्थितिबीच २५ रजत जयन्ती मनाएको छ । मधेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उपस्थित प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादव, प्रदेशसभा सदस्यद्वय रामाशिष यादव र संजय महतो, जिल्ला समन्वय समितिका संयोजक, विभिन्न मुलुकलाई प्रतिनिधित्व गर्ने दातृ निकायका प्रतिनिधिहरु, समाजक कल्याण परिषद् तथा प्रदेश सरकारका पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले आसमान टिमलाई बधाई दिए ।

आसमानक यात्रा

रजत जयन्तीको अवसरमा आयोजित समारोहमा सरिता फाउन्डेशनले २५ मिनेट लामो एक नाटक मार्फत आसमान नेपालको २५ वर्षे यात्रालाई सांकेतिक प्रदर्शन गरेको थियो । पाँचजना महिलासमेत आठजना पात्रले भूमिका खेलेको उक्त नाटकले आसमान नेपालको सुरुवात, आरोहअवरोह र सफलताका कथाहरुलाई सहजै बुझ्नेगरी चित्रण गरेको थियो ।

मधेश र नेपालमात्रै होइन अफ्रिकामा पनि सम्मानित

आसमान नेपालले मधेशबाट सुरु गरेको यात्रा नेपालका विभिन्न जिल्ला र पालिकामा पुगेर गरेको कामको प्रभाव राम्रो देखिएपछि दातृ निकायहरुको पहलमा अफ्रिका पुगेर पनि काम गरेको अनुभव समारोहमा व्यक्त गरियो । भारतस्थित एक गैरसरकारी संस्थाका प्रतिनिधिले आसमान नेपालले अगाडि सारेको बालश्रम मुक्त अभियान भारतहुँदै अफ्रिकासम्म पुगेर विश्वव्यापी अभियानको रुप लिनु आसमान नेपालका लागि ठूलो सफलता रहेको उल्लेख गरे ।

१२ कक्षामा पुगे आसमान नेपाल ठाकुर

रजत जयन्तीमा साझा भएका आसमान नेपालका उपलब्धीहरुलाई एउटा समाचारमा मात्र सिमित गर्न साध्य छैन । अनेकन उपलब्धी स्वयम् लाभान्वित व्यक्तिहरुले प्रस्तुत गरिरहँदा मञ्चमा एकजना किशोरले पनि बोल्ने मौका पाए । आसमान नेपाल ठाकुर नामक ती किशोर जन्मिनु अगाडि धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा विद्यालयमा परिचरको काम गर्ने महिला आसमान नेपालको कामबाट प्रभावितमात्र भएनन् । यो संस्थाले भगवानकै रुपमा गरिबका लागि काम गरिरहेको भन्दै भर्खरै जन्मेका नातीको नामकरण नै संस्थाको नामबाट गरिदिइन् । आज आसमान नेपाल ठाकुर जो परिवारको आर्थिक हैसियतले उच्च शिक्षा प्राप्त गर्ने कल्पना गर्न सक्दैनन् उसले आसमानकै सहयोगमा चाहेजति पढ्न पाउने भएका छन् ।

छोरी १० कक्षामा आमा ९ कक्षामा

आसमान नेपालको रजत जयन्ती समारोहमा समय मागेर बोलेकी बबिता मण्डलले आफ्नो उपलब्धीवारे बोलिरहँदा सबैलाई गम्भिर बनाइन् । निम्न वर्गीय परिवारकी बबिता आठ कक्षा पढ्दैगर्दा विवाह गर्नुपरेको थियो । त्यसपछि घरपरिवारमा अल्झिएकी उनी परिवारको आर्थिक संकट झेलिरहेको समयमा आसमान नेपालको महिला सशक्तिकरण कार्यक्रमसँग जोडिन पुगेकी रहिछन् ।

‘मेरो परिवारमा साँझ बिहानको छाक टार्न सहज थिएन । मेरा श्रीमान् राजमिस्त्रीको रुपमा काम गर्दा पैसा त कमाउँथे तर दिनभरको कमाइ राति दारुमा खर्चिहाल्थे । म आसमान नेपालको महिला सशक्तिकरण परियोजनासँग जोडिए लगत्तै सबभन्दा पहिले म सिपयुक्त भएँ । आर्थिक बचतको लागि समूह बनाएर नियमित बचत कार्यको शुभारम्भ भयो । सिप सिकेकोले बचतको लागि पैसा कमाउन पनि थालिसकेको थिएँ । म आफु आत्मनिर्भर भएपछि श्रीमान्लाई सही बाटोमा ल्याउन पनि सहज भयो । बिहे हुँदा ८ कक्षासम्म पढेपनि परीक्षा दिन पाएको थिइँन । अहिले मेरी छोरी १० कक्षामा पढ्दैछिन् र म ८ कक्षा पासगरी ९ कक्षामा छु । घर बनाइसकेँ । जमिन पनि जोडिसकेँ । र, अब पढाईलाई पनि अगाडि बढाउँछु’ बबिताले भनिन् । उनले यस्तो भनिरहँदा सहभागीहरुको अनुहारमा सफलताको भाव छल्किरहेको देखिन्थ्यो ।

Facebook Comments Box
न्यूज आज