ज्यादतिमा उत्रेको प्रहरी क्यामेरामा कैद भएपछि…

जनकपुरधाम । बिहीबार धनुषास्थित जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । कार्यालयको गेट अगाडी भइरहेको विरोध प्रदर्शनको तस्बिर खिचेपछि पत्रकार हदिश खुद्दारलाई प्रहरीले धरपकड गरेको हो ।

केही दिन अगाडि रुपैठामा भएको छुरा प्रहार सम्बन्धी घटनाका दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गेट अगाडि प्रदर्शन गरिरहेको थियो । सोही विषयको रिपोर्टिङ गरिरहेका पत्रकार खुद्दारले प्रदर्शनकारीको तस्बिर खिचेपछि प्रहरीले निसाना बनाएको गुनासो उनको छ । सुरुमा प्रहरीले फोटो किन खिचेको भन्दै मोबाइल खोसेको बताउँदै पत्रकार खुद्दारले न्यूज आजसँग भने, ‘एक जना विनय सिंह नाम भएका इन्स्पेक्टरले भनेपछि तत्काल मोबाइल फिर्ता त गर्यो । तर, फेरि पीडितसँग मैले कुरा गरिरहेको अवस्थामा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्न थाल्यो । सबै भागाभाग भए ।’

पत्रकार खुद्दाले भने, ‘प्रहरी लाठीचार्जमै उत्रेपछि मैले भिडियो खिच्न थालेँ । प्रहरीको नजर ममाथि आइपुग्यो र भिडियो किन खिचेको भन्दै मुद्दा फाँटका मनोज दास र प्रहरी जवान रुपेश यादव नामक जवानले मेरो मोबाइल फेरि खोसे ।’

घटनापछि पत्रकार खुद्दारले अन्य पत्रकारहरुलाई बोलाएपछि डिएसपी रञ्जन अवाले मोबाइल फिर्ता दिन लगाएर दोषी प्रहरीहरुलाई तीन दिनभित्र विभागीय कारवाही गर्ने जनाएका छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक प्रेस विज्ञप्ती जारी गरी पत्रकारमाथि भइरहेको प्रहरीको दुव्र्यवहारका घटनाहरुको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज