रघुनाथपुरमा कलशयात्रा सम्पन्न, तीन बजेदेखि कथा

रघुनाथपुर (धनुषा) । धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा श्रीमद्भागवत महापुराण कथावाचन सप्ताहको समुद्घाटनमा विशाल कलश यात्रा प्रदर्शन गरिएको छ ।
कमला नदीको सीताघाटबाट कलश भरेर सयौंको संख्यामा निस्केका महिला श्रद्धालुहरुले ढोलबाजा, रामपुरहुँदै रघुनाथपुर बजारमा रहेको हरिहरनाथ मन्दिर परिसरमा विश्राम लिएका थिए । रथ र बाजागाजाको साथ कलश यात्रालाई आयोजक कमिटीले सुसज्जित गरेको थियो । एक हप्ता अगावैदेखि छिमेकी पालिकाहरुमा समेत प्रचार प्रसार भएको यो महापुराण सप्ताहव्यापी कथावाचनमा उल्लेख्य सहभागी हुने अपेक्षा गरिएको छ ।
समाजमा बढ्दो विकृतिलाई निरुत्साहित गर्दै सामाजिक भावनाको विकास, धर्मशाला निर्माण र सामुदायिक शिक्षा सुधारको उदेश्यसाथ सप्ताह आयोजना गरिएको श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिका अध्यक्ष विरेन्द्र महतोले जानकारी दिए ।
उनले अध्यात्मिक मार्गले सभ्य समाज निर्माणको अभियानमा सबै सनातनी धर्म मान्ने समुदायलाई जुट्न आग्रह गरे ।