मधेस प्रदेश सहित दुई प्रदेशमा चट्याङसहित हल्का वर्षाकाे सम्भावना

काठमाडौं । कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

Facebook Comments Box
    ट्याग: