गुणले परिपुर्ण प्रतिष्ठानमा रेक्टरका दावेदार साह

जनकपुरधाम । प्राध्यापक डा. राजेन्द्र प्रसाद साह रौतहट जिल्लास्थित देवाही गोनाही नगरबासी हुन् । १६ वर्ष अघि प्राध्यापकको प्रमाण पत्र प्राप्त गरेका उनले स्वास्थ्य सेवा क्षेत्रमा काम गरेकै अनुभव ४४ वर्ष पुगिसक्यो ।
मेडिसिन र अर्थोपेडिक सर्जरीसमेत दुई विषयमा स्नातकोत्तर गरेका प्रा.डा. साहले एनाटोमीमा एमफिल अध्ययन गरेका हुन् । उनले २०३७ सालमा स्वास्थ्य क्षेत्रमा औपचारिक रुपले प्रवेश गरी आजसम्म निरन्तर सेवा गरिरहेका छन् ।
२०३३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका प्रा.डा. तत्कालिन समयमा रौतहट जिल्लामै उत्कृष्ट भएर विद्यालयस्तरीय छात्रवृति प्राप्त गरे । २०३६ सालमा एचए उत्तीर्ण गर्दै उत्कृष्ट परिणाम ल्याएको आधारमा आइओएम (इन्ष्टिच्यूट अफ मेडिसिन) बाट छात्रवृतिसँगै ऐश्वर्य छात्रवृति समेत पाए ।
आइओएममा कार्यरत रहँदा २०६४ सालमा डा.साहले प्राध्यापकको प्रमाण पत्र प्राप्त गरे । जसको पद प्रमाणिकरण त्रिभुवन विश्वविद्यालयले गरेको थियो । यस आधारमा उनी प्राध्यापक भएकै १६ वर्ष पुगिसक्यो ।
चिकित्सा क्षेत्रमा मुख्यतः दुई क्षेत्र हुन्छ, आधारभूत चिकित्सा शिक्षा र क्लिनिकल शिक्षा । प्रा.डा.साहले दुवै क्षेत्रमा अध्ययन गरेका छन् । उनी आधारभूत चिकित्सा शिक्षा क्षेत्रमा प्राध्यापक हुन् भने क्लिनिकल शिक्षातर्फ अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर गरी सिनियर कन्सल्टेन्ट छन् । यतिसम्मको प्रतिभावान व्यक्तित्व चिकित्सातर्फ मधेश प्रदेशमा सायदै कोही होलान् ।
प्राध्यापक डाक्टर राजेन्द्रको अर्को महत्वपूर्ण अनुभव भनेको उनी दुई विषयमा थेसिस लेखेका छन् । र, उनले प्रमुख लेखकको रुपमा तयार पारेको सात वटा रिसर्च आर्टिकल प्रकाशन भएको छ । त्यस्तै, सहायक लेखकको रुपमा पनि उनको दुई वटा रिसर्च आर्टिकल प्रकाशित भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कन्सल्ट्यान्टको रुपमा काम गरेका उनले त्यहाँ डिपार्टमेन्ट प्रमुखको रुपमा पनि अनुभव प्राप्त गरे । त्यसपछि वीरगंजस्थित एमबी केडिया डेन्टल कलेजमा प्रा.डा.साहले विभागीय प्रमुख र प्रिन्सिपल भएर काम गरे । गण्डकी मेडिकल कलेजमा पनि उनले प्राध्यापक र विभागीय प्रमुखको रुपमा काम गरी अनुभव संगालेका छन् ।
नेपाल मेडिकल एशोसिएशन नारायणीका पूर्व उपाध्यक्ष रहेका उनी मधेश शहीद उद्यानका संस्थापक उपाध्यक्ष हुन् । रौतहट वेलफेयर सोसाइटी पर्साका अध्यक्ष प्राध्यापक डाक्टर राजेन्द्र नेपाल अर्थोपेडिक एशोसिएशनका प्रदेश अध्यक्ष पनि हुन् ।
उनको अर्को सबल पक्ष भनेको प्रा.डा.राजेन्द्र प्रसाद साहले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु पाउन कहिल्यै आफ्नो खर्च गरेर पढ्नु परेन । दुई विषयमा स्नातकोत्तर गर्न शिक्षा मन्त्रालयले पुर्ण छात्रवृति उपलब्ध गराएको थियो भने आइओएमद्वारा पनि छात्रवृति पाएका थिए ।
यतिबेला प्रा.डा.साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदपुर्तीका लागि प्रक्रिया अघि बढाएको रेक्टरका लागि प्रतिष्पर्धामा छन् । बाहिर हल्ला सुनिए जस्तै आर्थिक चलखेल नहुँदो हो भने उनलाई प्रतिष्ठानको रेक्टर पदका लागि पछि पार्न सक्ने कुनै उम्मेदवार देखिएको छैन ।
उनी जस्ता व्यक्तित्व भर्खरै स्थापना भएर हिँड्न सिक्दै गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो निकायको गरिमा अझ उकासिने विश्वास गर्न सकिन्छ ।