विद्यालय तहबाट नै खेलकुदको विकास गर्न जरुरी छ : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएको छ । उनले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको जानकारी दिए ।
ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै आज जनकपुरधामा उनले यस्तो बताएको हो ।
मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगन्जमा स्तरीय रङ्गशाला निर्माण गर्न सरकारले योजना अगाडि बढाउने उल्लेख गरे ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि उपमहानगरले विभिन्न वडामा खेलकुद मैदान निर्माणमा जोड दिनुका साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा मधेस प्रदेशले विभिन्न विद्यालयमा खेलकुदको आयोजना गरेर निकै सराहनीय काम गरेको बताए ।
कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरूको सहभागिता थियो ।